कोराना संक्रमित किशोरीसंगै आएका बागलुङका युवा काठमाण्डौंबाट सिधै बुर्तिवाङ पुगेका थिए

दिल शिरीष,बागलुङ

कतारबाट चैत्र ४ को मितिमा नेपाल उत्रिएका बागलुङका युवाको मंगलबार बिहानै खोजी तिव्र भयो । खासगरी सामाजिक सञ्जाल र अनलाईन पोर्टलमा नेपालमा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको किशोरीसँगै एकै जहाजमा आएको भनिए पछि उनको खोजी स्वभाविक पनि थियो । तर, आम रुपमा अहिलेको परिवेश र जोखिमका कारण ठुलो चिन्ता र संशय पैदा भयो । र उनको घरमै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्ल नेतृत्वको टोली पुग्यो पनि । टोलीले ती युवालाई होम क्वारेन्टाइनमा बस्न सुझायो । तर, युवाका बारेमा अनेक भ्रमले स्थानीय र जिल्लावासीमा मात्र होइन, देशभर तरंग पैदा गरिह्यो । खास के थियो र भएको के रहेछ ? सनसनीपूर्ण भ्रम र यथार्थबारेको टिप्पणीः

भ्रम-१ : कोरोनाको लक्षण देखियो ?
उनलाई कोरोनाको लक्षण देखिएको अर्थात सामान्य रुघाखोकी र फिभर भएको भनिएको थियो । स्थलगत रुपमा पुग्दा त्यस्तो देखिएन । उनी सामान्य अवस्थामा छन् । उनमा कुनै लक्षण समेत छैन । यद्यपी, देश लक डाउन भएको परिस्थितिमा उनी आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।

भ्रम-२ : जहाजमा एकै सिटमा थिए ?
नेपालमा दोस्रो पटक कोरोना संक्रमण देखिएका फ्रान्सबाट आएकी १९ बर्षिय किशोरीसँगै एउटै विमान त उनीहरु आए । कतार दोहा ट्रान्जिट भएकाले बागलु ङका युवा कतारबाट विमान चढेका थिए । कतारको ३ बजे ६५२ नम्बरको बिमान चढेका उनीहरु पौने १० बजेको सेरोफेरोमा नेपाल उत्रिए । तर, उनीहरुको सिट एकै स्थानमा पनि थिएन र नजिकै पनि थिएन । कोरोना संक्रमण भेटिएका किशोरीको सिट नम्बर ९ थियो भने ढोरपाटनका युवाको सिट नम्बर २१ थियो । सामान्य दुरीका हिसावले पनि १ मिटर भन्दा बढि थियो । यसकारण अहिले भनिए जस्तो या सोचिए जस्तो गम्भिर जोखिम देखिदैन ।

भ्रम-३ प्रचारित नाम नमिलेर ठिकै ?
ढोरपाटनका अजय बिकको खोजी गर्नुप¥यो भन्ने सामाजिक सञ्जालको सन्देशलाई मंगलवार एकाबिहानै देखि देश तरंगित थियो । सञ्जालमा नाम समेत देखिए पनि कतिपयले व्यक्तिगत गोपनियता, संवेदनशिलताको ख्याल नगरेको भन्दै मन दुखाए, गुनासो पोखे । संयोग मान्नुपर्छ, जुन नामले कोरोना संक्रमणसँगै आएको प्रचारित भयो । पछि विमानको टिकटको यथार्थ खोज अध्ययनका क्रममा पासपोर्टमा नाम फरक भएको पाइयो । प्रचारित भएको नाम विमान यात्रुको सूचीमा नभेटिए पछि तिव्र खोजी गर्ने क्रममा दिउँसो मात्र उनले आफ्नो फरक नाम रहेको खुलासा गरे । एक किसिमले खास नामका हिसावले उनले ठुलो सकस बेहोर्नु परेन । यो पनि सुखद पक्ष मान्नुपर्छ ।

भ्रम-४ : म्याग्दीका होटलमा बसे ?
अहिलेको घडी संवेदनशिल हो । यस्तो बेलामा पनि अनेक संशय हुने गरी हल्ला, चर्चा र अफवाहरु फैलिरहन्छन् । फेसबुकहरुमा त यस्तो बिषय सामान्य नै भयो । असली सञ्चार माध्यम र पत्रकारहरु पनि जानी नजानि यस्तो प्रकरणमा सामेल देखिएका छन् । दिउँसो ढोरपाटनका युवा म्याग्दीको बेनीको होटलमा बसेको खबरले फेरी म्याग्दी तरंगित भयो । तर, त्यो अफवाह मात्र थियो । चैत्र ४ गतेका दिन काठमाण्डौं आएको रात त्यही बसे । भोलीपल्ट काठमाण्डौंबाट उनी सहित दुवैबाट आएका अर्का युवा सिधै बागलुङ बजार पनि होइन, बुर्तिबाङको बस चढेका थिए । त्यहाँबाट स्थानीय गाडीमा घर पुगका थिए ।