सांसद गिरीद्धारा पर्वत जिल्ला अस्पतालको अनुगमन, कोरोना विरुद्धको तयारी तत्काल गर्न निर्देशन

२७ फागुन, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको छ । महामारीको रुपमा फैलदै गरेको कोरोना (कोभिड–१९) विरुद्धको तयारीको विषयमा जानकारी लिन सांसद सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको हो ।

चिनको वुहान प्रान्तबाट फैलिएको भाइरसले संसारका झण्डै ३५ सय भन्दा बढिको ज्यान लिईसकेको छ । संक्रमण १ लाख भन्दा बढि मानिसमा देखिइसकेको छ । यो भाईरस नेपालमामा पनि भित्रनसक्ने र त्यसले पर्वत जिल्लाबासीलाई समेत प्रभावित पार्न सक्ने भन्दै सांसद गिरीले त्यसको तयारीमा जुटन् अस्पतालको अनुगमन गरेका हुन । अस्पतालले हालसम्म गरेको तयारीको सांसद गिरीले अनुगमन गरेका हुन ।

चीनबाट नेपाल फर्केका एक युवालाई भाइरस देखिएको पुष्टि भईसकेकाले नेपालमा यो संक्रमण फैलनसक्ने उच्च सम्भावना रहेको भन्दै गिरीले अस्पतालले विरामीको उपचारमा उच्च शर्तकता अपनाउन तयारी गर्नुपर्ने अनुगमनमा बताए । उनले विरामीलाई आवश्यक पर्ने अन्य औषधिहरु, माक्सको ब्यवस्थापन र आइसोलेसन वार्डको ब्यवस्थापनको विषयमा गिरीले चासो ब्यक्त गरेका थिए ।

शंकास्पद विरामी अस्पतालमा आएमा उनीहरुको परिक्षण गर्ने र उपचार गर्ने कार्यमा अस्पतालले गरेको तयारीको विषयमा पनि गिरीको जिज्ञासा थियो । अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले माक्सको उचित प्रवन्ध अस्पतालले गरीरहेको जानकारी दिए । उनले आइसोलेसन वार्ड ब्यवस्थापनको लागि हालसम्म कोठाहरु उपलब्ध नभएको समेत जानकारी दिएका थिए ।

विरामीको परिक्षण र जाँचका लागि आवश्यक सुरक्षा ड्रेसहरु हालसम्म पनि जिल्ला उपलब्ध नभएका कारण विरामी परिक्षणका लागि भने निकै ठूलो समस्या रहेको उनले जानकारी दिए । सुरक्षा ड्रेसका कारण विरामीलाई रिफर गर्नु बाहेकेका विकल्प नभएको डा. देवकोटाको भनाई थियो ।

उता, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले ५ दिन भित्र आइसोलेसन वार्डको ब्यवस्थापन गर्ने अस्पतालले प्रतिबद्धता जनाए पनि हालसम्म पनि वार्डको ब्यवस्थापन नभएको बताईन । अस्पतालको पुरानो भवन भत्काएर नयाँ बनाउने क्रममा रहेका कारण हालसम्म आइसोलेसन वार्डको स्थापना गर्न नसकिएको अस्पतालका अध्यक्ष गोविन्द पहाडीको भनाई छ । अनुगमन पछि लैगिक हिंसा पिडितको उपचारका लागि तयार पारिएको कोठालाई प्रयोग गरी ३ बेर्डको आइसोलेसन कक्ष तत्काल निर्माण गरिने भएको छ ।

सम्भावित भाइरस संक्रमणबाट जोगिन स्वास्थ्य कार्यालय र अस्पताले ब्यापक प्रचार प्रसार गर्न समेत अनुगमनको क्रममा सांसद गिरीले निर्देशन दिए । यसैगरी अस्पतालले गर्ने तयारीका सवै कामहरु तुरुन्तै गर्न र अत्यावश्यक सामाग्री ब्यवस्थापनका लागि आफूले प्रदेश र संघ सरकारबाट ब्यवस्था गर्ने समेत आश्वासन सांसद गिरीले ब्यक्त गरे ।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख मनोहर वि पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, नगारिक समाजका प्रतिनिधिहरु, जनप्रतिधि र पत्रकारहरुको सहभागीता रहेको थियो ।