Print

लुंखु–हुवास सडकमा कालोपत्रेको काम शुरु

२१ कार्तिक, पर्वत । कच्चि सडक खनेको १९ बर्ष पछि महाशिला गाउँपालिकाको लुंखु देखि पैयू गाउँपालिकाको हुवास जोड्ने सडक कालोपत्रे हुने भएको छ । एक कार्यक्रमका वीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उक्त सडकको शिल्यान्यास गरेका छन । तिमिल्सीनाले समयमै काम सक्ने कार्यमा सवैको सहयोग र खबरदारी रहनुपर्ने उक्त कार्यक्रममा बताए ।

कार्यक्रममा बोल्दै उनले देशका अन्य कतिपय जिल्लाहरुमा गाउँपालिका र नगरपालिकाका मुकाम जोड्ने सडकहरु समेत नभएको अवस्थामा पर्वतमा भने सवै वडामा सडक पुगेको बताए । उनले तत्कालीन नेकपा एमालेको तर्फबाट आफू जिल्ला विकास समितिको सभापति हुँदा खनिएका कच्चि सडक अहिले कालोपत्रेको चरणमा पुगेको भन्दै खुशी ब्यक्त गरे ।

सडक पक्कि बनाएर मात्र सम्बृद्धि नआउने भन्दै सडकको प्रयोग गरी आर्थिक सम्बृद्धि खोजीनुपर्ने तिमिल्सीनाको धारणा छ । उनले गाउँबाट शहर झर्ने गाडीमा गाउँका उत्पादन पठाउने गरी उत्पादनमा लाग्न समेत आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, वन वातावरण तथा उद्योग मन्त्री विकास लम्सालले पर्यटनबाट महाशिलाले सम्बद्धि खोजूनपर्ने धारणा राखे । देशमा भविश्य नदेखेर विदेशीएका युवा प्रति लक्षित गर्दै मन्त्री लम्सालले भने–‘गैरी खेत बेचेर खाडीमा गएकाहरुले देशको बारेमा नराम्रो टिप्पणी गर्ने अधिकार छैन’ ।

फेसवुक र टुट्वरमा झुण्डिएर सरकार र जनप्रतिनिधिको विरोध गर्नेहरुले उत्पादनमुखी कार्य गरेर सम्बृद्धि हासिल गर्नुपर्ने लम्सालको धारणा थियो । कार्यक्रममा संविधान सभा सदस्य कल्पना चापागाई, फलेवास नगरप्रमुख पदमपाणी शर्मा, पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर प्रेमहरी सुवेदी, महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले सञ्चालन गरेको शिल्यान्यास कार्यक्रमको अध्यक्षता महाशिलाका अध्यक्ष राजु पौडेलले गरेका थिए ।

कच्चि सडक खनेको १९ बर्ष पछि कालोपत्रेको निर्माण कार्य शुरुवात भएको उक्त सडकलाई स्तरोउन्नतीका लागि अध्यक्ष तिमिल्सीना, प्रतिनिधि सभा सदस्य पदम गिरी, गण्डकी प्रदेश मन्त्री विकास लम्साल लगाएतका नेताहरु संघिय सरकारमा पहल गरीरहेका थिए । संघिय सरकार अन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) ले उक्त सडकलाई कालोपत्रेको लागि टेण्डर आब्हान गरेको हो । ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना (आरआरआरएसडिपि) को बजेट शीर्षक अन्र्तगत सडक कालोपत्रेको लागि काम अघि बढेको छ ।

सडक पक्कि हुँदा जिल्लाको मध्य उत्तर देखि सुदुर दक्षिणी क्षेत्रको यात्रा सहज हुनेछ । उक्त खण्डमा १५ किलोमिटर सडक कालोपत्रे हुने कार्यालयले जनाएको छ । कुल ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ लागतमा सडक कालोपत्रेका लागि श्री हिमदुङ एण्ड थोकर प्रालिले जिम्मा लिएको छ ।

सडक कच्चि हुँदा बर्षातको समयमा सदरमुकाम आउन दक्षिणी पर्वतको पैयू, विहादी र महाशिलाका स्थानीय स्याङजा र कास्कीको सडक प्रयोग गर्न बाध्य थिए । कुश्मा देखि हुवास सडक अन्तर्गत दोविल्ला मुडिकुवामा कालोपत्रेको काम भईरहेको छ । मुडिकुवा देखि लमायखोलाको खण्डमा भने यस अघि नै कालोपत्रेको काम सकिएको छ ।