Print

पर्वत जिल्ला अस्पतालको सेवामा सुधार : अत्याधुनिक २३ वटा सेवा थप

११ भदौ, पर्वत । जिल्लाको एक मात्र सरकारी अस्पताल पर्वत जिल्ला अस्पतालको सेवामा सुधार भएको छ । सेवा प्रभावकारी नहुँदा सधै रिफर सेन्टरको उपाधि पाईरहेको जिल्ला अस्पतालले सेवा प्रवाहमा सुधार गरेको हो । अस्पतालमा नयाँ ब्यवस्थापन समितिको आगमनसंगै सेवा प्रवाहमा सुधार भएको हो । जिल्लाको एक मात्र सरकारी अस्पतालमा सेवा प्रवाहका विषयमा यस अघि विभिन्न टिप्पणीहरु हुने गरेपनि पछिल्लो समयमा भने अस्पतालले थप सेवाहरु सहित ब्यवस्थापनमा आमूल परिर्वतन गरेको छ । अस्पतालले बुधवार मात्रै एक कार्यक्रमका आयोजना गरी थप २३ वटा नयाँ सेवाहरु प्रदान गरेको घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त सेवाहरु शुभारम्भ भएको घोषणा गरिन ।

थप सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै पुनले नयाँ ब्यवस्थापन समिति आएसंगै अस्पतालको ब्यवस्थापनमा ब्यापक सुधार भएको बताईन । उनले अस्पतालमा विरामीको संख्या बढ्ने कुरा मुख्य नभएको बताउँदै विरामी हुन नदिनु नै राज्यको अभिभारा रहेको बताइन । उनले अस्पतालमा आउने विरामीको संख्यामा भने उल्लेख बृद्धिभएको बताईन । मन्त्री पुनले ब्यवस्थापन समितिकै पहलमा आगामी पुष महिना देखि मृगौला पिडित विरामीका लागि डाइलोसिस सेवा समेतको शुभारम्भ पर्वत जिल्ला अस्पतालबाट हुन लागेको जानकारी गराईन । ब्यवस्थापन समितिकै प्रयास र पहलमा भित्रिएका नयाँ उपकरण र सेवाहरुले सेवा प्रवाहमा थप सहजता आउने उनको भनाई छ ।

पर्वत जिल्ला अस्पतालमा भित्रिएका नयाँ उपकरण र सेवाहरुको शुभारम्भ कार्यक्रममा बोल्दै ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले ब्यवस्थापनमा सुधार आउँदा विरामी जाँचको संख्यामा समेत उल्लेख्य बृद्धि भएको बताए । उनले नयाँ ब्यवस्थापनबाट अस्पताललाई लैजादा विगतको तुलनामा झण्डै २५ प्रतिशत विरामीहरु अस्पतालमा बृद्धि भएको बताए । उनले स्वास्थ्य बिमा कार्यक्रम समेत अस्पताल ब्यवस्थापन समिति र स्वास्थ्य कार्यालयकै पहलमा यसै बर्ष देखि शुभारम्भ हुन लागेको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको सहयोगमा एक्सरे, ल्याब लगायतका अत्याधुनिक उपकरणहरु थप गरिएको छ  । पर्वत जिल्ला अस्पतालमा सिआर सिस्टमको डिजिटल एक्सरे, मुटुको समेत भिडीयो एक्सरे गर्न सकिने कलर डोप्लर युएसजी, मृगौलाको डायलसिस सेवाका लागि आवश्यक पर्ने सोडियम पोटासियम एनलाईजर, थाइराईड परिक्षण गर्ने मेसिन लगायतका २३ वटा नयाँ उपकरण प्रयोगमा ल्याएको अस्पतालकी प्रमुख नि. मेडिकल सुपरीटेण्डन सन्तोषी थपलीयाले कार्यक्रममा जानकारी गराईन ।

जिल्ला अस्पताले हाल १५ शैयाको स्विकृतमा सञ्चालन भई पनि २५ शैयाको सेवा दिईरहेको छ । अस्पतालमा निशुल्क प्रसुति सेवा अन्तर्गत अप्रेसन सेवा समेतको शुरुवात गरेको छ । यसैगरी अन्य सामान्य अप्रेसन देखि अस्पतालमा २४ घण्टे आकस्मीक सेवा समेत अस्पतालले प्रदान गर्दै आइरहेको छ ।