Print

‘कर्मचारीको पाता कस्ने कानून बन्दैछ’–मन्त्री पण्डित

पर्वत ३२ साउन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काममा आलटाल गर्ने कर्मचारीलाई पाता कस्ने कानून निर्माण हुन लागेको बताएका छन । प्रेस संगठन नेपालले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले तोकिएको जिम्मेवारी पुरा नगर्ने र काम चोर कर्मचारीहरुका लागि पाता कस्ने गरी कानून निर्माण हुन लागेको बताएका हुन ।

मन्त्री पण्डितले राज्यले दिएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीले दिएको राजीनामा समेत स्विकृत गर्ने चेतावनी दिए । उनले सामूहिक राजीनामा आएमा राजीनामा उपर एक पटक विचार गर्ने अवसर कर्मचारीलाई दिने समेत बताए । पुर्नविचारमा समेत कर्मचारीले राजीनामा फिर्ता नलिएमा सामूहिक राजीनामा स्विकृत गर्ने बताए । मन्त्री पण्डितले समायोजनको सवै काम सकिन लागेको तर पदस्थापना भने बाँकीरहेको समेत बताए । समायोजनसंगै पदस्थापना गर्दा कतिपय स्थानीय तहहरु रित्तै हुने भएका कारण पनि समायोजन पछि मात्रै पदस्थापन गर्न लागिएको मन्त्रीको भनाई छ । उनले कर्मचारीले रोजेको ठाउँमा र खोजेको ठाउँमा नै समायोजन गरीएको जानकारी दिदै कर्मचारीहरुले तोकिएको जिम्मेवारी भने बहन गर्नुपर्ने बताए ।

अर्को एक प्रशंगमा मन्त्री पण्डितले भ्रष्ट्रचार गर्ने कर्मचारीलाई देशभरीबाटै अख्तियारले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको बताए । उनले भ्रष्ट्रचारी कर्मचारीहरुका कारण अख्तियारको थुनुवा कोठा भरिएको भन्दै अव हल नै निर्माण गरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । मन्त्री पण्डितले कर्मचारीसंगै जनप्रतिनिधिहरु समेत भ्रष्ट्रचारी बन्दै गएको समेत बताए । उनले ५ बर्षको अवधिमा कम्तिमा २५ प्रतिशत कर्मचारी र जनप्रतिनिधिहरुलाई अख्तियारले कारबाही गर्ने दावी गरे । सरकारले अख्तियारलाई सक्रिय बनाउँदै कर्मचारीसंगै जनप्रतिनिधिको समेत निगरानी गरिरहेको खुलासा गरे ।

मन्त्री पण्डितले स्थानीय तहमा स्थायी रुपमा रहेका कर्मचारीहरुको समेत सरुवा हुने ब्यवस्था छिट्टै शुरु हुन लागेको समेत बताए । स्थायी कर्मचारी हुँ भनेर स्थानीय तहमा दादागिरी देखाउने कर्मचारीलाई पनि पाता कस्ने गरी कानून निर्माण गरिने मन्त्री पण्डितको भनाई छ । उनले अयन्त्र सरुवा नहुने भन्दै स्थानीय तहका कर्मचारीहरुले स्थानीय तहमा दादागिरी देखाएको समेत आरोप लगाए । राजधानी दैनिकमा खबर छ