Print

‘कालीगण्डकी नदीको उत्खनन् वैज्ञानिक तरिकाले हुनुपर्छ’–सांसद गिरी

७ साउन, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले कालीगण्डकी नदीको उत्खनन् वैज्ञानिक तरिकाले गर्नुपर्ने बताएका छन । सोमबार पर्वत सदरमु्काम कुश्मा बजारमा आयोजीत समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गिरीले ठूलो विवादको रुपमा रहेको कालीगण्डकी नदीको उत्खनन्मा वैज्ञानिक विधि अबलम्बन गर्नुपर्ने धारणा राखेका हुन ।

चुरे पर्वत र कालीगण्डकी नदीलाई एउटै मापढण्ड बनाउँदा उत्खनन्मा पटक पटक विवाद हुदै आएको भन्दै उत्खनन् गर्दा वैज्ञानिक आधार र प्रमाणहरुलाई आधार बनाउनुपर्ने उनको धारणा छ । नदीको सतहलाई धेरै नै गहिरो बनाउँदा त्यसले पर्यावातावरणमा ठूलो असर पर्ने भन्दै सतह नघटाउने गरी नदीजन्य वस्तुको उत्खननु गर्नुपर्ने धारणा राखेका हुन ।

नदीको सतह धेरै नै गहिरो बनाउँदा जमिन मुनीको तल्लो सतहमा रहेको पानीको मात्रा माथिल्लो भागमा आउने खतरा हुने तर्क गर्दै सांसद गिरीले हिउँदमा भन्दा बर्षायाममा नदीजन्यवस्तुको उत्खनन् गर्ने र हिउँदको समयमा स्थानीय तह आफैले विक्री गर्दा आम्दानीको श्रोत बढ्ने गिरीको तर्क छ । बार्षिक करोडौ रकम आम्दानी हुने नदीजन्य वस्तु्को उत्खनन्मा स्थानीय तहले मिलोमोतो गरी केहि लाख रकममा टेण्डर आब्हान गर्नु मिलोमोताको उदाहरण भएको उल्लेख गर्दै सांसद गिरीले त्यस्तो कार्य नगर्न स्थानीय तहलाई अनुरोध समेत गरे ।

सांसद गिरीले मदिरा नियन्त्रणमा स्थानीय तहले आधुनिक विधि निर्धारण गर्न सुझाब दिए । उनले समय निर्धाराण, ब्यक्तिको विवरण संकलन र मदिरा विक्री गर्ने पसलहरु निश्चित गर्ने जस्ता कानूनी प्रक्रियाहरुको शुरुवात गरी मदिरा नियन्त्रण गर्न सुझाब दिए । सांसद गिरीले प्रहरीको शान्ति सुरक्षा कायम गर्ने कार्यमा सत्तापक्षको कुनै असहयोग र दबाव नहुने भन्दै तटस्थ रहेर अपराधको अनुसन्धान गर्न प्रहरीलाई गिरीले अनुरोध समेत गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले प्रहरीले नदीको अवैध उत्खनन्मा रखबारी गर्दै आए पनि प्रहरी संगठनको केहि ब्यक्तिहरुले बदनाम गरेको बताएका थिए । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नदीको बालुवा निकाल्ने कार्यमा प्रदेश र संघको मापढण्डलाई वैज्ञानिक बनाउनुपर्ने धारणा राखेका थिए ।
जिल्लाको समग्र सुरक्षा प्रशासनको विषयमा समेत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजि विनोद शर्मा घिमिरेले समुदायमा आधारित साझेदारी कार्यक्रम मार्फत समाजका केहि समस्याहरु समाधान गर्न प्रहरीले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए । शान्ति सुरक्षा कायम गर्न र नदीको उत्खनन् रोक्न प्रहरीले बदनामी कमाउन नहुने उनको तर्क छ ।

कार्यक्रमका सहभागीहरुल जिल्लाको शान्ति सुरक्षा ब्यवस्थापन गर्न सुझाब दिएका थिए । अवैध घरेलु मदिरा नियन्त्रण, नदीको उत्खनन्, लागु औषधि नियन्त्रण, बजार क्षेत्रको शान्ति सुरक्षा ब्यवस्थापन, महिला हिंसा लगाएतका विषयमा सुझाब सहितका धारणा राखेका थिए ।