Print

जलजलाको आगामी बजेट ४३ करोड ३७ लाख, सडक पूर्वाधार प्राथमकितामा

२२ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले आगामी बर्षकोलागि ४३ करोड ३७ लाख ७५ हजारको बजेट पारित गरेको छ । आइतबार सम्पन्न गाउँ सभाले आगामी बर्षको बजेट सर्वसहमत पारित गरेको हो । गाउँपालिकाले आगामी बर्षका लागि सडक पूर्वाधारलाई प्राथमिकता राखेर बजेट ल्याएकोछ । चौथो गाउँ सभामा उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गरेको बजेटमा उद्योग तथा बाणिज्यका लागि ५ लाख रकम विनियोजन भएको छ । बजेटमा कृषि क्षेत्रका लागि ५४ लाख रुपैया र खानेपानी तथा सरसफाईका लागि ८१ लाख ५० हजार रुपैया विनियोजन भएको छ । खेलकुद तथा मनोरञ्जनका लागि ४९ लाख विनियोज गरेको जलजला गाउँपालिकाले जलाधार संरक्षणका लागि १७ लाख रुपैया विनियाजन गरेको छ ।

यसैगरी पर्यटन तर्फ ३५ लाख, पशु विकासमा ३८ लाख, भवन तथा शहरी विकासमा १ करोड उनन्सय लाख रुपैया विनियोजन भएको छ शिक्षा क्षेत्रमा ७१ लाख रुपैया रकम र स्थानीय सडकमा जलजला गाउँपालिकाले ६ करोड रकम विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा १६ लाख रकम विनियोजन गरेको जलजला गाउँपालिकाले सस्कृति प्रवद्र्धनका लागि ८१ लाख रुपैया विनियोजन गरेको छ । सडक तर्फ गाउँपालिका भरका साना सडकहरुलाई स्तरोउन्नती र केहि टोलहहरु जोड्ने नयाँ सडक निर्माण हुने गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार आगामी बर्षका लागि मिलनचोक देखि फड्केढुंगा हुँदै माझफाँट जोड्ने सडकलाई थप पक्कि बनाउनका लागि २ करोड रकम विनियोजन भएको छ । उक्त रकममा प्रदेश र संघ सरकारसंग समेत सहकार्य गरिने कुरा बजेटमा उल्लेख भएकोछ । जलजला क्षेत्रमा केबलकार प्रस्ताव गरिएको बजेटमा यस बर्ष डिपिआर निर्माणका लागि २० लाख रुपैया प्रस्ताव गरिएको छ । बजेटले पक्कि सडक, गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार तर्फ उल्लेख्य प्रगति हुने अध्यक्ष मल्लले दावी गरे । उनले सवै पक्षको सल्लाह र स्थानीय स्तरको मागका आधारमा बजेट प्रस्तुत गरिएको दावी गर्दै संघ र प्रदेश सरकारसंगैको सहकार्यमा ठूला आयोजनाहरु कार्यान्वयनको चरणमा लैजाने जानकारी दिए ।

आइतबारको गाउँसभाले विनियोजन विधेयक र आर्थिक विधेयक समेत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । बजेटको कार्यान्वयन नयाँ आर्थिक बर्षको पहिलो चौमासिककबाट हुने गरी योनाका कामहरु अगाडि बढाईने प्रमुख प्रशासकीय अधिकृत शर्मा बताउँछन ।