३१ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा विकास योजनाहरुको सम्पन्न चरण अन्तिम अवस्थामा पुगेको छ । गाउँपालिकाले विनियोजन गरेका विकास योजनाहरुको सम्पन्न हुने चरण अन्तिम चरणमा पुगेसंगै गाउँपालिकाले अनुगमन समेत शुरु गरेको छ ।
उपाध्यक्ष सेती महतको संयोजकत्वमा गठन भएको अनुगमन टोलीको अन्तिम प्रतिवेदनका आधारमा योजनाहरुको भुक्तानी गर्ने गरी अनुगमन शुरुवात भएको हो । विहिबार मात्रै गाउँपालिकाका उपाध्यक्ष महत, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, मोदी २ का वडाअध्यक्ष विकास तिमिल्सीना, योजना शाखाका धर्मदत्त शर्मा सहितको टोलीले वडा न २ का योजनाहरुको अनुगमन गरेको छ ।
गाउँ सभाबाट विनियोजन भएका योजनाहरुको प्रभावकारिता, गुणस्तरीयता र पारदर्शीतालाई आधार मानेर अनुगमन गरिएको उपाध्यक्ष महतले जानकारी दिइन । वडा न २ मा चालु आर्थिक बर्षमा सडक योजनाहरु मुख्य प्राथमिकतामा छन । वडाअध्यक्ष तिमिल्सीना भन्छन–‘डोजरको दर रेट निर्धारण गरेर अनुगमन समिति, उपभोक्ता समितिको रोहरवरमा काम भएको छ ।’
सवै योजनाहरुको अनुगमनमा आफै खटेका कारण योजनाहरुका पारदर्शीतामा कुनै समस्या नरहेको वडाध्यक्ष तिमिल्सना बताउँछन । अनुगमन टोलीले गाउँपालिकाबाट विनियोजीत रकमबाट निर्माण र मर्मत भएका सडकहरु, मन्दिर, पदमार्ग र सुन्तला नर्सरीको अनुगमन गरेको छ ।
गाउँपालिकाबाट विनियोजीत योजनाहरुकोे निर्माण चरण अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत गुरुङको भनाई छ । केहि वडाहरुमा सम्झौता ढिलो भएका कारण मात्रै योजनाहरु असारको पहिलो साता पनि फछ्यौट नभएको गुरुङले जानकारी दिए ।
विकास योजनामा वित्तिय प्रगति ९५ प्रतिशत भन्दा बढि हुने गुरुङको भनाई छ । योजनाको अनुगमन टोलीले यस अघि पनि निरन्तर अनुगमन गरीरहेको गुरुङले बताए । अनुगमन टोलीले बाँकी रहेका वडा न ३ देउराली र वडा न ७ राम्जादेउरालीको अनुगमनलाई निरन्तरता दिदैछ ।





