२९ जेठ, पर्वत । पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३।६ मेगाहर्जको कार्यालयमा आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ ।
आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए ।
आगालागी भएसँगै विहानदेखि रेडियोको प्रशारण समेत बन्द भएको छ । कुनैपनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको बिकल्प नभएको शर्माले बताए । उनका अनुसार आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो ।
विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण पुर्ण रुपमा क्षति पुगेको हो । आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । झण्डै रु।तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरण भने आईनसकेको शर्माले जानकारी दिए । तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
२०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।
यसै वीच आगलागी भएको रेडियोको फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले अवलोकन गरेका छन । क्षतिग्रस्त रेडियोको स्टुडियोमा पुगेका नगरप्रमुख शर्माले क्षतिको विवरण एकिन भएपछि सहयोग जुटाई रेडियो सञ्चालन गर्न पहल गर्ने प्रबिद्धता ब्यक्त गरे । क्ष
तिग्रस्त रेडियोमा प्रहरी नायव उपरिक्षक श्याम अर्याल, रेडियो दिदिवहिनीकी अध्यक्ष कल्पना चापागाई, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिव वैगुण्ठ गिरी लगाएतले क्षतिग्रस्त रेडियोको अवलोकन गरेका छन ।
पत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले रेडियोको नियमित सञ्चालन गर्नका लागि सवैले सहयोग गर्न आग्रह गरे । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार सवैले उचित क्षतिपूर्ति उपलब्ध गराउँदै रेडियो सञ्चालनका लागि पहल गर्न अनुरोध गरेका छन । रेडियो पर्वत पर्वत जिल्लाको पहिलो रेडियो हो ।




