Print

स्थानीय तह निर्वाचनको दुई बर्ष पुरा : निकटतम प्रत्यासिहरुको खबरदारी न्यून

२ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटा तहहरु मध्ये तत्कालीन नेकपा (एमाले)ले ४ वटा निर्वाचन जित्यो । ३ तहमा भने नेपाली कांग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा उमेदवार बनेकाहरु मध्ये विजयी भएकाहरु आलिसान क्ुर्चिमा शासन गरीरहेका छन । उनीहरुका समाचारहरु दैनिक जसो आउँछन । कतिपय जनप्रतिनिधिहरुले भ्रष्ट्रचार र श्ुसासनलाई रोक्न नसकेको अरोप समेत लागेको छ । उनीहरुका केहि उल्लेखनीय कामहरुको भने प्रचार भई नै रहेको छ । चर्चा सधै जित्नेकै हुन्छ । हार्नेको कम चर्चा हुने समाजमा हामी पराजीतहरुको केही चर्चा गर्दैछौं ।

कुश्मा नगरपालिका 

तत्कालीन नेकपा एमालेको तर्फबाट उमेदवार बनेका मेघनाथ सुवेदी नेपाली कांग्रेसका प्रतिद्धन्द्धी रामचन्द्र जोशीसंग प्रतिस्पर्धामा थिए । झण्डै १ हजार ८ सय मतान्तरले निर्वाचन हारेका सुवेदी नव गठिन नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटि सदस्य बनेका छन । राजनैतिमा सक्रिय सुवेदीले निर्वाचन हारे पनि उनको प्यानलका तत्कालीन नेकपा (एमाले)का ९ वटा बडाध्यक्षहरुले निर्वाचन जितेका छन । दुई तिहाई भन्दा बढि सदस्यहरु कार्यपालिकामा निर्वाचित छन । प्रतिपक्षीको जस्तो गरी कार्यपालिकलाई सुझाब दिने, नगरपालिकालाई गलत बाटोमा हिड्ने रोक्ने कुरामा सुवेदीको भूमिका भने नगरपालिकामा भेटिदैन । उनी आफ्नो पार्टीको राजनैतिक गतिविधिहरुमा बढिजसो सक्रिय देखिन्छन । बेला बखत वडाअध्यक्षहरुले कुश्मा नगरपालिकामा अनावश्यक रजाई गरीरहेको समाचार बाहिर आउँदा सुवेदीको खासै सार्वजनिक प्रतिक्रिया छैन ।

नगरप्रमुखका विरुद्ध मोर्चा बन्दी गरेर वडाअध्यक्षहरुले निकै महत्वहिन योजनाहरुमा रकम विनियोजन गर्ने, वडाको सञ्चालन खर्चमा निकै ठूलो रकम खर्च गर्ने परिपार्टी कुश्मा नगरपालिकामा विकसित छ । उता, कर्मचारी प्रशासनमा निकै कमजोर बनेको आरोप कुश्मा नगरपालिकालाई लाग्ने गरेको छ । कर्मचारीहरुको परिचालन र प्रशासनीक कार्य सञ्चालनमा आएको समस्याका वीच पनि नगरपालिकामा समस्यामा देखिन्छ । अर्कोे तर्फ, केहि वडाअध्यक्षहरुलाई अख्तियारले निरन्तर निगरानीमा राखिरहेको छ । अख्तियारमा उजुरीको संख्या अधिक हुँदा पनि न निकटम प्रतिद्धन्द्धी त्यसको रोकथाममा सचेत गराउने अभियानमा नै छन, न निर्वाचन जितेका नगरप्रमुख नै । कुश्मा नगरपालिका जनसंख्या, भूगोल र बजेटको हिसावले निकै ठूलो नगरपालिका हो । नगरपालिकामा आन्तरीक श्रोत निकै ठूलो मात्रामा भित्रन्छ । तर त्यसको सहि सदुपयोगमा न नागरिक खबरदारी देखिन्छ न, जनप्रतिनिधिहरु सचेत छन । निर्वाचनका निकटम प्रतिद्धन्द्धी सुवेदीले आफूले निर्वाचनमा गरेका वाचाहरु पुरा गराउन प्रदेश सरकारसंग सहकार्य गरीरहेका छन । उनले केहि सडकको स्तरोउन्नती र खानेपानकिो सहज उपलब्धताका लागि संघ र प्रदेश सरकारसंग सहकार्य भईरहेको दावी गर्दै आइरहेका छन । संघ र प्रदेश सरकार सुवेदी आवद्ध रहेको पार्टीको नेतृत्वमा छ ।

फलेवास नगरपालिका

सडक चक्लाबन्दी र महत्वकाक्षी योजनाहरुका कारण चर्चामा रहेको फलेवास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट गंगाधर तिवारी तत्कालीन एमालेका जिल्ला सचिव पदमपाणी शर्मासंग प्रतिस्पर्धामा थिए । थोरै मतान्तरमा पारजीत बनेका तिवारीले निर्वाचन जित्न ३ सय मत कम ल्याएका हुन । पेशाको हिसावले निर्माण ब्यवसायीको रुपमा परिचित उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन । सरल स्वभावका तिवारी पनि निर्वाचनमा पराजय भएपछि नगरपालिकाका कार्यशैली र निर्णय प्रक्रियाहरुको विरुद्धमा सचेतीकरण अभियानमा सहभागी देखिदैनन । आफ्नै पेशा, ब्यवसाय र राजनैतिक गतिविधिका कार्यक्रमहरुमा सहभागी उनले प्यानलका दुई जना मात्रै वडा अध्यक्ष निर्वाचनमा निर्वाचित भएका हुन । उनीहरुको नगरकार्यपालिकामा अल्पमत छ । करको रकममा बृद्धि गरेको, जनकेन्द्रित योजनाहरुमा नगरपालिकाले ध्यान नदिएको र औपचारिक शैलीलाई मात्र नगरपालिकाले निरन्तरता दिएको आरोप लाग्दै आएपनि नगरपालिकालाई दुरदर्शी बनाउने अभियानमा निकटम प्रतिद्धन्द्धीको भूमिका उल्लेखनी देखिदैन ।

मोदी गाउँपालिका

नेपाली कांग्रेसका पार्टी सचिव विश्वप्रकास प्रसाई आफै उमेदवार बनेर गाउँपालिकामा अध्यक्षको निर्वाचनमा उठेका थिए । उनी पेशाले एनजिओकर्मी हुन । सामाजिक परिचालनको क्षेत्रमा सक्रिय प्रसाई भारी मतान्तरले तत्कालीन नेकपा (एमाले)का उमेदवार प्रेम पौडेलसंग हार बेहोरेका थिए । मोदी गाउँपालिकाको सम्बृद्धि र विकासमा विपक्षी मोर्चाको रुपमा नेपाली कांग्रेसले कुनै ठोस कार्ययोजनाहरु पेश गर्ने कार्यपालिकालाई खबरदारी गर्ने कार्य गरेको छैन । गाउँपालिकाका ८ वटा वडा मध्ये १ वटा मात्रै वडाको अध्यक्षमा निर्वाचन जितेको कांग्रेसले मुख्य गरी आन्तरीक श्रोतको ब्यवस्थापन र दीर्घकाली योजनाहरु निर्माण कार्यमा गाउँपालिकालाई गर्नसक्ने सकारात्मक सहयोग पुन पुराउन सकिरहेको छैन ।

जलजला गाउँपालिका

जिल्लाको उत्तरी क्षेत्रमा रहेको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष रामकृष्ण मल्लले बहुमत कार्यपालिका सदस्यहरु सहित विजयी हात पारेका हुन । तत्कालीन नेकपा (एमाले)का उमेदवार लालबहादुर अधिकारीलाई पराजीत गरेका मल्लको कार्यपालिकामा स्पष्ट बहुमत छ । उनको पार्टीले गाउँपालिकाका ९ वटा वडाहरु मध्ये ५ वटा वडाहरुमा निर्वाचन जितेको हो । गाउँ कार्यपालिकाले पटक पटक नदीजन्य वस्तुको उत्खनन्मा जिल्ला, प्रदेश र संघका कानूनहरुसंग बाँझिने गरी निर्णय गरीरहेको छ । उपभोक्ता समिति गठन र परिचालनका साथै दिर्घकालीन योजनाहरुमा कम ध्यान दिएको जलजला गाउँपालिकामा पनि विपक्षी मोर्चाको उपस्थिती शक्तिशाली देखिदैन । कार्यपालिकामा सवै निर्णयहरु सर्वहमत भईरहेका छन । खवरदारी र सकारात्मक सहयोगमा स्थानीय तहका लागि निर्वाचन हारेका अधिकारीको उपस्थिती कम छ । उनी हालको नेपाल कम्युनिष्ट पार्टीमा क्रियाशिल छन । उनी जिल्ला कमिटि सदस्य हुन ।

महाशिला गाउँपालिका

नेपाली कांग्रेसका उमेदवार उज्वल गुरुङलाई निर्वाचनमा हराउँदै नेकपा (एमाले)का उमेदवार राजुप्रसाद पौडेलले निर्वाचन जितेका हुन । पौडेल प्रशासनमा निकै कठोर रहेको कर्मचारीहरुको आरोपसंगै उनले ल्याएका केहि नयाँ विकासका योजनाहरुका कारण भने महाशिला चर्चामा छ । महाशिला गाउँपालिको दीगो विकासका लागि नयाँ स्मिकहरु अध्यक्षले ल्याइरहेको बेला महाशिला गाउपालिकामा नेपाली कांग्रेसले भने विपक्षी दललाई कुनै पनि गतिविधिहरुमा सहभागी नगराएको भन्दै आफ्नो केहि मागहरु राखेर गाउँपालिकाको दैनिक प्रशासनमा अवरुद्ध गरेको थियो । वार्ता र छलफलको माध्यमबाट कांग्रेस पछाडी हटेपनि विकट क्षेत्रमा रहेको गाउँपालिकामा कर्मचारीहरुको भने कम आकर्षण छ । प्रशासन र शक्ति नियन्त्रण गाउँपालिका अध्यक्षसंग रहेको भन्दै कर्मचारीहरु गाउँपालिकालाई रोजाईको क्षेत्र बनाउन छाडेका छन ।

विहादी गाउँपालिकामा

विहादी गाउँपलिाकामा पराजीत उमेदवार हुन प्रविण गुरुङ उनी नेपाली कांग्रेसका हुन । तत्कालीन नेकपा एमालेका कमल भुषालले अध्यक्ष पदको निर्वाचन जितेका हुन । निर्वाचनसंगै अल्पमतमा रहेका भुषाललाई कार्यपालिका सञ्चालन गर्न हम्मे हम्मे थियो । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको तालमेलका कारण अल्पमतमा रहेका भुषाल पार्टी एकतासंगै भने अल्पमतको भुमरीबाट माथि उठेका छन । ठूला र दुरगार्मी योजनाहरुमा ध्यान नदिएको विहादी गाउँपालिकामा विपक्षी दलको तर्फबाट कार्यपालिकाको वैठकमा खबरदारी गर्ने बाहेकको अरु भूमिकामा नेपाली कांग्रेस पनि सहभागी भएको देखिदैन ।

पैयू गाउँपालिका

जिल्लाको सुदुरदक्षिणी क्षेत्रमा रहेको पैयू गाउँपालिका विकास निर्माण र योजनाहरुको हिसाबमा पछिल्लो समयमा भने गति लिएको छ । नेपाली काग्रेसका उमेदवार खगेन्द्र तिवारीले तत्काली नेकपाका उमेदवार मित्रलाल बस्याललाई फराकिलो मतान्तरणले हराएका थिए । बस्याल कम्युनिष्ट पार्टीमा क्रियाशिल नै छन । यद्यपि पार्टी एकता भएका कारण उनको पदीय जिम्मेवारी पार्टीले अझैसम्म दिएको छैन । बस्यालले पनि गाउँपालिकाका निर्णयहरुमा खासमा चासो ब्यक्त गर्ने नगरेको आरोप लागिरहेको छ ।  अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर