१७ वैशाख, पर्वत । नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) तथा अखिल नेपाल ट्रेड यूनियन महासंघको आयोजना तथा पर्वत जिल्ला अस्पतालको सहयोगमा कुश्मा नगरपालीका वार्ड नं. १ मालढुंगामा रहेको बस्तीका श्रमिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गर्दै पर्वत जिल्ला अस्पतालका अध्यक्ष एवम नेकपा पर्वतका नेता गोविन्द पहाडीले श्रमिकहरुको बस्तीमा नै आएर निशुल्क स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गर्ने कार्य प्रशंसनिय भएको बताए ।
पहाडीले नेपाल सरकारले श्रमिकहरुको न्यूनतम ज्याला दर निर्धारण गरेको तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएर आफनो समाजवाद प्रतिको प्रतिवद्धतालाई व्यवहारबाट प्रस्ट पारेको छ भन्दै पोषणको अभावमा कुपोषित भएका बच्चाहरुलाई पर्वत जिल्ला अस्पतालमा निशुल्क पोषण युक्त खाना खुवाउने व्यवस्था रहेको हुंदा यसको सेवा लिन समेत आग्रह गरे ।
जिफण्ट कुश्मा कमिटिका अध्यक्ष खगेश्वरी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कुनपा वार्ड नं. १ पाङका अध्यक्ष देवेन्द्र सुवेदी, जिफण्ट गण्डकी प्रदेश सदस्य रमा पुन , पूर्व जिल्ला अध्यक्ष खेम लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए । पर्वत अस्पतालका डा. विष्णु भण्डारीको नेतृत्वले १२० जनाको स्वास्थ्य परिक्षण गरेको थियो ।




