Print

आगामी ४ बर्ष भित्र पर्वतमा २ सय ५० किलोमिटर सडक कालोपत्रे, १५ वटा मोटरेवल पुल बन्ने

१६ वैशाख, पर्वत । पर्वत जिल्लाका ग्रामीण सडकहरु एक पछि अर्को कालोपत्रेको चरणमा प्रवेश गरेका छन । झण्डै दुई दशक देखि सडक खनिए पनि ति सवै सडक कच्चि अवस्थामा छन । ग्रामीण सडकहरु कच्चि हुँदा बर्षको झण्डै ४ महिना सवारी आगमन प्रायः बन्दै नै हुने गर्छ ।
जिल्लामा झण्डै ४ सय किलोमिटर कच्चि सडक खनिएको छ । तत्कालीन जिल्ला विकास समितिले जिल्लाका साविक ५५ वटै गाविसका कार्यालयहरुसम्म सदरमुकाम देखि पुग्नका लागि खनेका कुनै पनि सडक यस अघि कालोपत्रे भएका थिएनन ।

सडक कालोपत्रे नहुँदा यात्रा कष्टकर मात्र होइन, भाडादर महंगो हुने, समयमा औषधि उपचार प्राप्त नहुने, शिक्षा आर्जन गर्नका लागि कष्टकर हुँदा बजार क्षेत्रमा बसाईसराईको दरमा बृद्धि आएको छ । गाउँघरमा उत्पादन भएका वस्तुहरुले समेत बजार भाउ पाउन सकिरहेका छैनन । यसले गाउँहरु सुनसान र रित्तो भएका छन, भने शहर बजारको जनसंख्यामा बृद्धि भएको छ ।

संघियताको कार्यान्वयनसंगै भएको निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवार सवैको मुख्य एजेण्डा सडक कालोपत्रे नै थियो । त्यो प्रतिबद्धता क्रमशः पुरा हुँदै गएको बताउँछन प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी । कम्यूनिष्ट पार्टीको मात्र होइन, कांग्रेसको पनि एजेण्डा सडकको स्तरोउन्नती गर्ने नै थियो । दुई तिहाई सहित देशभरबाट कम्युनिष्ट पार्टीले निर्वाचन जितेपछि भने त्यो सपना क्रमशः पुरा हुँदै गएको गिरीको भनाई छ । प्रदेश सरकार र संघिय सरकार कम्युनिष्ट पार्टीको हुँदा जिल्लाबाट निर्वाचन जित्ने सवै जनप्रतिनिधिहरुले एउटै एजेण्डा पुरा गर्न सफल भएको गिरीले तर्क गरे ।

स्थानीय तहहरुले सडक कालोपत्रे गर्ने बजेट आफूहसंग नहुने भएकाले संघ र प्रदेश सरकार गुहारीरहेका छन । प्रदेश सरकारलाई अधिकतम् रकम संघ सरकारले उपलब्ध गराउँदा सडक र महत्वपूर्ण ठूला खोलाहरुमा जिल्लामा थप १५ वटा मोटरेवल पुल पनि निर्माण हुने भएका छन ।
माथि उल्लेख गरिएका सडकहरु बाहेक मोदिबेणीमा मोटरेवल पुल चालु बर्ष मै पुरा हुनेछ । यसैगरी भुरुङदीखोला मोटरेवल पुल, लमाएखोला माथि मोटरेवल पुल र सेतिबेणीको मोटरेवल पुल पनि चालु बर्षमै निर्माण सम्पन्न हुनेछ । जैमुनिघाटमा मोटरेवल पुलको निर्माण कार्य अगाडि बढेको छ । यसैगरी अन्य मोटरेवल पुलहरु सेराखोला मोटरेवल पुल, गेडिखोला मोटरेवल पुल, मर्दिखोला मोटरेवल पुल, सिब्दिखोला मोटरेवल पुल, झिलिबराङ मोटरेवल पुल, खाल्टेखोला मोटरेवल पुल, सुम्साघाट मोटरेवल पुल, मोदीखोला झाप्रेवगर मोटरेवल पुल, गाडतारामा मोदीखोला मोटरेवल पुल, कल्लेरीमा कालीगण्डकी मोटरेवल पुल पनि निर्माण सम्पन्न हुनेछन ।

गण्डकी प्रदेश सरकारमा पर्वत प्रदेश न १ का प्रदेश सांसद नेत्रनाथ अधिकारी सभामुख छन । गण्डकी प्रदेशकै वन पर्यटन तथा उद्योग मन्त्री विकास लम्साल पर्वत क्षेत्र न २ बाट निर्वाचित भएका हुन । अधिकारी र लम्साल पनि जिल्लाको मुहार फेर्नका लागि आफूहरु प्रदेश सरकारबाट प्रयास गरीरहेको बताउँछन । उता, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले जिल्लाको विकास निर्माणको खाकामा सांसद, प्रदेश मन्त्री र स्थानीय तहका प्रमुखहरुका योजनाहरुलाई सहयोग गरीरहेका छन ।

यस पटक स्थानीय तहहरुमा निर्वाचित प्रमुख तथा अध्यक्षहरुको चासो पनि सडक, मोटरेवल पुलको विकासमा रहेको देखिन्छ । उनीहरुले प्रदेश र संघ सरकारलाई स्थानीय तहको विकासका लागि ठूला योजनाहरुको काम गरीरहेका छन ।

पूर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले प्रदेश भरीका अन्य जिल्लाको तुलनामा पर्वत जिल्लामा सडक र पुलका योजनाहरु धेरै रहेको बताउँछन । उनले प्राप्त सिलिङका आधारमा सके जति सवै योजनाहरुलाई ठेक्का प्रणालीमा लगिसकेको बताए । रकमको अभाव नभएको खण्डमा तोकिएको अवधिमा सवै योजनाहरु पुरा हुने उनको अनुमान छ । बजेट अभाव नभए र देशमा अरु कुनै संकट आइनपरे आगामी ४ बर्ष भित्र जिल्लाका धेरै जसो सडकहरुमा यात्रा सहज मात्र हुनेछैन रित्तिएका गाउँघरहरुमा बसोबास गर्ने, बजार छाडेर गाउँ फर्केनकेो संख्यामा पनि बृद्धि हुनसक्नेछ । अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर