Print

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमः निर्माणधिन योजनाहरुको सांसदद्धारा अनुगमन

२५ चैत्र, पर्वत । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बाँडफाँड हुने स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत विनियोजीत बजेटको खर्च प्रक्रिया शुरु भएको छ । कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षका लागि रु ४ करोड रकम विनियोजन भएको हो । सांसद पदम गिरीको संयोजकत्वमा खर्च हुने उक्त रकमले जिल्लाका मुख्य सडकहरुलाई स्तरोउन्नती गरी पक्कि बनाउने लक्ष्यका साथ रकम विनियोजन भएका थियो ।

जिल्लाका मुख्य ५ वटा सडकहरुका लागि विनियोजन भएको उक्त बजेटबाट खेलकुद र पशुपालनमा समेत सहयोग गरिएको थियो । यसै वीच उक्त रकमको कामको बारेमा सांसद गिरीले योजनागत रुपमा नै अनुगमन गरेका छन । मुख्य गरी विहादी, फलेवास र महाशिला क्षेत्रमा विनियोजन भएको बजेटको खर्च प्रक्रिया र योजनाको प्रभावकारिताको विषयमा अनुगमन गरेका हुन ।

विहादी गाउँपालिका विनियोजीत बजेटले छचन्ने–चरकाङ–सेतीवेणी सडकको स्तरोउन्नती भईरहेको छ । उक्त सडकलाई अहिले चक्लाबन्दी गराउने काम चलिरहेको छ । १५ लाख रुपैंया बजेट विनियोजन भएको उक्त सडक दक्षिणी क्षेत्रको निकैम महत्वपूर्ण सडक मानिन्छ । चर्चित धार्मिक क्षेत्र सेतीवेणी पुग्नका लागि विहादी र पैयू क्षेत्रका बासिन्दाले उक्त सडक प्रयोग गर्दछन । सडकलाई निकट भविश्यमा नै कालोपत्रेको लागि योजना गरिने गरी हाल स्तरोउन्नतीको लागि रकम विनियोजन गरिएको सांसद गिरीले जानकारी गराए ।

यसैगरी पैयू गाउँपालिकाको लागि विनियोजीत चिसापानी–हातेमालो चोक–विहादी सडक भने प्रदेश सरकारबाट कालोपत्रे हुने भएपछि उक्त गाउँपालिकामा पालिका स्तरीय सभाहल र बहुउद्देश्यीय भवन निर्माणको लागि तयारी भईरहेको बताइएको छ ।

फलेवास नगरपालिकाका रहेको कुर्घा दुग्ध उत्पादक समूहको भवन तथा चिलिङ भाट् खरिदको पनि काम भईरहेको छ । भवन निर्माणको अनुगमन गर्दै गिरीले पारदर्शीतापूर्वक काम भएका र बजेट अभाव भएमा बजेट थप गर्न सकिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रम अन्तर्गत विनियोजीत वारीवेनी–माझफाँट–लेकफाँट सडकको पनि काम शुरु भएको छ । उपभोक्ता समितिले गाउँपालिकासंग सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । यसैगरी जलजलाकै मिलनचोक–शालीजा–लेकफाँट सडकको पनि काम भईरहेको उक्त सडकलाई स्तरोउन्नती गरी पक्कि बनाउने गरी डिजाइन स्टिमेट तयार गरिएको शर्माले बताए ।

उता, मोदी गाउँपालिकाको प्रमुख सडक पातिचौर–बाजुङ–क्याङ सडकमा पनि उपभोक्ता समितिले काम गरीरहेको छ । उक्त सडकको सांसद गिरीले अनुगमन गर्दै गुणस्तरीयतााम ध्यान दिन स्थानीयबासी र गाउँपालिकालाई निर्देशन दिएका थिए ।

कार्यक्रम अन्तर्गत विनियोजीत रकमले विहादी गाउँपालिकामा १ सय ५२ वटा फलामे पोल खरिद भएका छन । कार्यक्रम अन्तर्गत विनियोजीत ३० लाख रकममा गाउँपालिकाले समेत साझेदारी गरी उक्त पोल खरिद गरिएको विहादीका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले जानकारी दिए । पन्थीका अनुसार आगामी बर्ष थप १ करोड बजेट भएमा गाउँपालिकालाई फलामे पोल सहितको गाउँपालिका घोषणा गर्न सकिनेछ ।

महाशिला गाउँपालिकाका लागि विनियोजीत मिलनचोक–बालाकोट सडकको पनि उपभोक्ता समिति मार्फत काम गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी गराए ।