Print

आफ्नो पीडा नभन्ने एउटा स्वाभिमानी मान्छे

‘छोरी आज हाम्रो घरमा कसरी साग पाक्यो?’

‘गेस गर्नुस् न, साग कहाँबाट आयो होला?’, छोरीले उत्तर दिइन्।

‘त्यो पल्लोघरको आन्टीले दिएको हुनुपर्छ ’ उनी झन जिज्ञासु बने।

‘त्यो त होइन’ छोरीको उत्तर आयो।

‘हामीसँग पैसा त थिएन, कसैले बजारबाट किनिदियो कि!’, उनले फेरि अनुमान लगाए।

‘बाबा, हामीसँग साग किन्ने पैसा कहाँ छ र? पशुपति जाँदा बाटो छेउमा उम्रिएको साग टिपेर ल्याएको हो’, उत्तर अबोध र सरल थियो।

तर, उनको मनमा सानिछोरीको त्यही सरल उत्तर तीर बनेर उनियो। उनी भक्कानिए। अरु उपायै पो के थियो र?

०००
उनी अर्थात्, पदम नेपाली। पेशाले मास्टर, अनि जनवादी गायक।

हुँदाखाँदाको शरीर रोगले थलिएपछि उनका पँखेटा भाँचिए। पखेँटा भाँचिनु के थियो, चिसो काठमाडौँमा उनलाई हातमुख जोर्नै समस्या भयो। घरमा रहेका दुई छोरी र श्रीमतीका रहरहरु पनि कुँजिए। घर हैन, डेरामा सागको तरकारी पाकेको दिन पनि अनौठो लाग्ने भइदिए।

बिहीबार (१४ चैत्र) उनका दौँतरी महेन्द्र गुरुङ आफ्ना प्रिय साथी पदमकै अगाडि यही कथा सुनाउँदा आफै भक्कानिए। उनीसँगै भेला भएकाहरुका पनि आँखा रसाए।

सम्हालिँदै महेन्द्रले भने, ‘मेरो साथीले यही कथा मलाई सुनाउँदा कस्तो भयो होला, म आज पनि उसकै लागि रोएको हुँ।’

दुःख र पीडाको लामो कथा छ, पदमको। २०४१ सालतिर उनी उच्च शिक्षा अध्ययन गर्न पोखरा आए। पोखराको मालेपाटनमा डेरा थियो। दलित भएकै कारण मध्यरातमा उनी कोठाबाट निकालिए। उनका भाँडाकुँडा र कपडा सडकमा फालिए। उनी त्यसपछि पृथ्वीनारायण क्याम्पसको छात्राबासको शरणमा पुगे। छात्राबासमा महेन्द्रले उनलाई साथ दिए।

‘त्यो बेला म होस्टलमा पनि खाना खान जाँदैनथेँ, कसैले केही भन्लान् कि भनेर च्यूरा खाएर सुत्थेँ, अनि राति अबेर आउँथे, बिहानै कक्षा जान्थेँ’, उनले भने, ‘पछि महेन्द्र र साथीहरुले मलाई बीचमा राखेर लाइनमा बसाई खाना खान लगाए।’

पृथ्वीनारायण क्याम्पसमा तत्कालीन माले अखिलको प्रभाव थियो तिनताका। महेन्द्रको संगतमा परेका उनी पनि वाम राजनीतिमा तानिए। होस्टलको बसाई, कतिबेला प्रहरी घुस्ने हो थाहा नहुने। उनीहरु त्यहीँ कराँते सिक्थे। भित्तामा अखिलका नारा पोत्थे। जनवादी गीत गाउँथे र वर्गीय मुक्तिका कुरा गर्थे।

हेपिएका पदम क्याम्पस हुँदै जनसाँस्कृतिक मञ्चमा आवद्ध भए। उनी गीत गाउन अरु जिल्ला पनि पुग्थे रे! चेतना र विद्रोहको आगो ओकल्ने गीतहरु पदम साह्रै मीठो गाउँथे रे!!

पढाईमा अब्बल थिए, पदम। पृथ्वीनारायण क्याम्पसबाट स्नातक गरे। काठमाडौँ विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर सकाउँदा उनी दोस्रो बने। ‘हामी परिवर्तनका कुरा गर्छौं, तर पदम जातकै कारण माथि आउन सकेन, राम्रो पढाई भए पनि उसले राम्रो जागिर पाएन’, महेन्द्रले सुनाए, ‘उ काठमाडौँमा बिभिन्न ठाउँमा काम गथ्र्यो, तर राम्रो कहीँ भएन।’

जिन्दगीको रथ गुडेकै थियो। श्रीमती र दुई छोरी राजधानीमा जसोतसो बाँचेकै थिए। एकदिन उनको जीवनमा आँधी आयो। करिब ६ वर्षअघि उनलाई हृदयघात भयो। १८ दिन आइसियूमा बसेपछि उनी तंग्रिए। तर, हृदयघातको असर बाँकी नै थियो। अस्थायी जागिरहरु छुटे।

‘मर्ने मान्छे हो, तर उसलाई दृढ ईच्छाशक्तिले बचायो’, महेन्द्रले साथीकै अगाडि सुनाए, ‘उ बाँच्नको लागि संघर्ष गरिरहँदा यता गाउँमा भुईंचालोले घर ढलायो। तनहुँको शुक्लागण्डकी गाउँपालिका ढोरफिर्दी नहरेमा रहेको घरमा उनका बुढा बाबु र आमा बस्थे। आफै ढलेको मान्छे, घर उठाउन सक्ने कुरै भएन। रोगी पिताको पेन्सन भए पनि त्यो उनकै उपचारको लागि अपुग थियो।

जीवनले लय गुमायो। काम गर्न नसक्दाको पीडा त छँदैथियो, केही गर्छु भन्ने भावना पनि थियो। ‘आफूमाथिको विजय’ सायद, सबैभन्दा ठूलो जीत हो। योगाले कमाल गरेको छ। उनी यतिबेला दैनिक १२ किलोमिटर हिँड्न सक्ने भएका छन्। ठूलीछोरी १२ कक्षामा पढ्छिन् भने कान्छी अपेक्षा पनि चावहिलमा रहेको श्रम राष्ट्रिय माविको १० कक्षामा पुगिन्। अहिले उनी पनि छोरीहरु पढ्ने स्कूल पढाउँछन्। घर ठडिएको छैन। अस्थायी शिक्षक हुन्, पदम। जागिर जाँदैछ।

‘अब मेरो जागिर जाँदैछ,म अस्थायी शिक्षक हुँ’, पोखरामा सहृदयीहरुले दिएको सहयोग रकम स्वीकार्दै उनले भने, ‘जागिर सकिएपछि पोखरातिरै आएर सानोतिनो केही गरौँ भन्नेछ, हेरौँ के हुन्छ?’

०००
दुःखको पोयो जति फुकायो त्यति बढ्छ। ५२ वर्षीय पदमले एकदिन आफ्नो कथा साथी महेन्द्रलाई सुनाए। महेन्द्र रोएनन् मात्रै, सहयोगको लागि कम्मर कसेर लागे। उनीहरुले पदमलाई तत्काल केही सहयोग जुटाए, पदमको मुहारमा केही खुसी ल्याए। अनि थप सहयोगको लागि ‘अ ड्रप अफ स्माइल’ नामक संस्था नै गठन गरे।

काम हुँदै थियो, त्यस्तैमा अर्को मोड आयो।

महेन्द्र संयोगले हङकङ पुगे। हङकङमा पृथ्वीनारायण क्याम्पस पढेका विद्यार्थीहरुको संगठन ‘एक्स पिनएन हङकङ विद्यार्थी संगठन’ का अध्यक्ष विरोध गुरुङसँग भेट भयो। महेन्द्रले आफूलाई हैन, साथी पदमलाई सहयोग गर्न अनुरोध गरे।

वामपन्थी विचारधाराका विरोध पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियू सदस्य पनि थिए। महेन्द्रको मुखबाट जनवादी गायक पदमबारे सुनेका उनले सहयोग रकम संकलन गर्ने निधो गरे। त्यहाँ केही रकम पनि उठ्यो।

आफू पोखरा फर्केको मेसोमा त्यहाँ संकलित रकम बोकेर आएका विरोधले बिहीबार सानो उपस्थितिमा १ लाख ८५ हजार रुपैयाँ पदमलाई थमाए। ‘उहाँले संगीतमार्फत् दिएको सन्देशले हामी वामपन्थी आन्दोलनमा लागेका हौँ’,उनले भने, ‘अहिले यो सहयोग जुटाउन र हस्तान्तरण गर्न पाउँदा खुसी छु, दाईको जीवनयात्रा हिम्मतका साथ अगाडि बढोस्।’

रकम हस्तान्तरण कार्यक्रममा संघीय संसदका सांसद पदम गिरि पनि उपस्थित थिए। पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेका उनले पनि पदम नेपालीलाई सक्दो सहयोग गर्ने वचन दिए।

‘स्वाभिमानी मान्छेले आफ्नो पीडा भन्दैन, पदम दाई त्यस्तै मान्छे हो’, उनले भने, ‘अब म निरन्तर उहाँसँग हुनेछु।’

पदममा अब आँट पलाएको छ। पाएको सहयोगले ढोरफिर्दीमा एउटा घर ठड्याउने ध्याउन्नमा छन् उनी। जागिर त जाला। तर उनको मन पनि शुभेच्छुकको सहयोगले ठडिएको छ।

by : www.nepalkhabar.com