८ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले वडा न ६ तिलाहारको गिज्यानमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरेको छ । संघियता कार्यान्वयन भएसंगै टोल टोलबाट सरकारी सेवा दिने संविधानको मर्मत बमोजीम गाउँपालिकाले तिलाहारका गिज्यानमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरेको हो ।
स्वास्थ्य इकाईको एक कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले उदघाटन गरेका छन । स्वास्थ्य इकाइको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले संघियता कार्यान्वयनको पहिलो चरमै गाउँपालिकाले वस्ती र टोल स्तरबाट सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरेको बताए । उनले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल विषयमा राज्य थप जिम्मेवार बन्नुपर्ने बताउँदै प्राथमिक उपचारका लागि अव तिलाहारको गिज्यानका जनता टाडा जानु पर्ने बाध्यता हटेको बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सेती महतले निर्वाचनको समयमा आफुहरुले गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै हिडेको बताईन । उनले टाडाको स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा सामान्य उपचारका लागि जानुपर्ने स्थानीयको समस्या अव समाधान हुने विश्वास ब्यक्त गरिन ।
कार्यक्रममा मोदी गाउँपालिकाका प्रवक्ता तथा वडा न ६ का वडा अध्यक्ष विमल लामिछानेले स्थानीय जनताको माग र चाहना बमोजीम नै गाउँपालिका मार्फत सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको जानकारी गराए । उनले जनताको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले नै लिनुपर्ने धारणा ब्यक्त गर्दै स्वास्थ्य इकाईबाट प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय स्तरबाट पनि सहयोग हुनपर्ने धारणा ब्यक्त गरे ।
तिलाहार स्वास्थ्य चौकीमा पुग्न गिज्यानबाट झण्डै १ घण्टाको पैदल यात्रा गर्नुपर्ने गिज्यानबासीको बाध्यता रहेको थियो ।
उता, जिल्ला अस्पतालमा पुग्न समेत टाडा भएकाले सामुदायिक स्वास्थ्य इकाई मात्र सेवा प्रवाह हुँदा गिज्यानबासी खुशी भएका छन । सामुदायिक स्वास्थ्य इकाईमा १ अहेव, १ अनमी सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन । स्वास्थ्य ईकाईबाट स्वास्थ्य चौकीले प्रवाह गर्ने सवै प्रकारका सेवाहरु प्रवाह हुने मोदी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
गिज्यान टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत वडा सदस्य लक्ष्यबहादुर केसी र सञ्चालन मोदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारील गरेका थिए ।




