२३ पौष, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ । जलजला गाउँपालिका–२ बगरफाँटस्थित सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनु भएको थियो । सनातन धर्मले नै समाज र व्यक्तिलाई सत्चरित्र, सत्मार्ग र सहिष्णु हुन प्रेरित गरेको उल्लेख गर्दै नेता जोशीले आज सनातन धर्मप्रति ओली सरकारले संस्थागत रुपमै हमला गरेको दावी गर्नुभयो । उहाँले धर्मका माध्यमबाट देश र दुनियामा ठूला–ठूला विद्यालय र महाविद्यालय, अस्पताल र विकासका ठूल–ठूला संरचनाहरु निर्माण भएको वताउँदै सनातन धर्ममा निकै ठूलो शक्ति रहेको दावी गर्नुभयो । नेता जोशीले नेपाली काँग्रेस देशमा धार्मिक निरपेक्षता भन्दा धार्मिक स्वतन्त्रताको पक्षमा रहेको वताउनु भएको थियो । ‘काँग्रेस सनातन धर्म र संस्कृतिको संरक्षण गर्दै सबै धर्माबलम्बीहरुको धार्मिक स्वतन्त्रताका प्रति प्रतिवद्धत छ तर धर्मलाई व्यापार बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने धार्मिक अतिवाद हामीलाई मान्य हुँदैन ।’– नेता जोशीले भन्नुभयो ।
नेता जोशीले बगरफाँट पर्वतको सुदूरउत्तरमा रहेको पिछडा बस्ती भएपनि आफू विगतमा जनप्रतिनिधि हुँदा त्यहाँको बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारका लागि निकै ठूलो काम गरेको दावी गर्नुभयो । ‘बौर’का नामले चिनिने यो गाउँ आज बगरफाँट भएको छ, मैले शुभारम्भ गरेका विकासका आयोजनाहरुको निरन्तरताका लागि मेरो साथ स“धै तपाईहरुसँग छ ।’–नेता जोशीले भन्नुभयो । उहँले आफूले चुनाव हारेपनि जनतामा कुनै गुनासो र मनमा कुनै पश्चाताप नभएको उल्लेख गर्दै निरन्तर जनताको बीचमा जाने र उनीहरुको सुखदुःखमा साथ दिने प्रतिवद्धता जनाउनु भएको थियो । नेता जोशीले विद्यालयको भौतिक संरचना ठूलो भएर मात्र नहुने भन्दै विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको प्रमुख आवस्यकता रहेको वताउनु भएको थियो । ‘शिक्षा राम्रो भयोभने अन्यत्रबाट पनि विद्यार्थीहरु यहाँ आउँछन्, शिक्षा नै राम्रो भएन भने यहाँका विद्यार्थीहरु पनि छोडेर अन्यत्र जान्छन् त्यसैले शिक्षामा सुधार गर्नोस ।’–नेता जोशीले सुझाव दिनुभयो ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आयोजित महायज्ञ आज समापन हुँदैछ भने हालसम्म ३६ लाखभन्दा बढि सहयोग संकलन भएको आयोजक समितिले जनाएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा प्रवचन गरिरहनुभएको छ ।




