Print

कुश्मा नगरपालिकाले फोहोर नउठाएपछि बजारबासीले फाले सडकमै फोहोर

१३ पौष, पर्वत । विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर नउठ्ेको भन्दै कुश्माको धनेश्वर चोकबासीले चोकमै फोहोर फालेका छन । संकलित फोहोर फाल्ने स्थानको अभावमा नगरपालिकाले फोहोर नउठाउदा कुश्माबजार दिन प्रतिदिन दुर्ग्न्धित बन्दै गएको छ । नगरपालिकाले फोहोर संकलनमा ध्यान नदिएको भन्दै कुश्माको धनेश्वर चोकमा फोहोर सडकमा फालेर सडक नै अवरुद्ध गरिएको छ ।

लामो समय फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको भन्दै बजारवासीहरु आक्रोसित बनेका छन् । विभिन्न नाममा करहरु संकलन गर्ने तर फोहोरमैलाको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै बजारबासीहरु आक्रोसित बनेका हुन् । फोहोर फाल्न नपाएपछि बजारबासीहरु घर वरिपरी, र चोक चोकमा फोहोरको डंगुर थुपार्न बाध्य भएका छन् ।

लामो समयसम्म फोहोर नउठाईँदा व्यावसायीहरु अझै बढि समस्यामा परेका छन् । दैनिकजसो व्यापार व्यावसायवाट निस्किएको अनावश्यक चिजबस्तुहरु हटाउन नपाउँदा समस्या भएको व्यावसायीहरुको भनाई छ । बजारवासीहरुबाट विभिन्न बहानामा एकीकृत सम्पत्ति कर, भूमि कर, व्यावसाय कर लगायतको राजश्व संकलन गर्ने तर नगरपालिकाले फोहोरमैला जस्तो संवेदनशिल बस्तु व्यवस्थापनका लागि बेवास्ता गरेको पर्वत उद्योग बाणिज्य संघको आरोप छ ।

यता कुश्मा नगरपालिकाले जग्गा व्यवस्थापनका लागि निरन्तर पहल भैरहेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले जतिसक्दो चाँडै समस्या समाधान गर्ने प्रयासमा रहेको बताए । जनप्रतिनिधिले पनि चासो नदिएको स्थानीयको गुनासो छ ।

गत आर्थिक वर्ष सम्म कुश्माको फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सफा कुश्माका लागि सामुहिक अभियान नामक संस्थाले लिएको थियो । उक्त संस्थाले फाल्दै आएको ठाउँको बिकल्प खोज्दै नगरपालिका आफैले व्यवस्थापनको जिम्मा लिएपनि उपयुक्त स्थान नपाउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।