Print

मोदी गाउँपालिकाका सवै वडाहरुमा जेष्ठ नागरिक विश्राम स्थल बनाईने, बाजुङबाट अभियान शुरु

१२ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिकाका सवै वडाहरुमा जेष्ठ नगारिक विश्राम स्थल बनाईने भएको छ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने गाउँपालिका सवै वडाहरुमा एक/एक वटा विश्राम स्थल बनाउन लागिएको हो ।

विश्राम स्थल निर्माण कार्यको शुरुवात भने मोदी गाउँपालिका ५ बाजुङबाट गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बाजुङको पातिचौरमा आयोजीत एक भेलाका वीच उक्त अभियान शुरुवात भएको जानकारी गराएका हुन ।

अनुभव र योगदानले भरिएका जेष्ठ नगारिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । पौडेलले गाउँपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकहरुको हक र हितका लागि चालु आर्थिक बर्षमा विभिन्न कार्यक्रहरु समेत सञ्चालन गर्न लागेको जानकारी दिए ।

गाउँपालिकाले विश्राम स्थल निर्माण कार्यका लागि पहिलो चरणमा बाजुङका लागि ३ लाख रुपैंया विनियोजन गरेको छ । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार अगामी बर्ष देखि सवै वडाहरुमा विश्राम स्थललाई ब्यवस्थापन गर्ने गाउँपालिकले योजना बनाएको छ ।

जेष्ठ नगारिकहरुले समाज र देशका लागि पुराएको साहसीक योगदानको कदर समेत हुने गरी विश्राम स्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताए । ‘आजको समाज निर्माणमा सवै अग्रहहरुको योगदान छ’ लामिछानले भने –‘अग्रजहरुको बलिदानीपूर्ण संघर्षका कारण आजको समाज स्थापना भएको हो ।’

संघिय सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता मार्फत सहयोग गर्दै आएकोले स्थानीय तहबाट भने विश्राम स्थल निर्माण गरी जेष्ठ नागरिकहरुका अनुभव सुन्ने दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाई छ ।

मोदी गाउँपालिकामा ८ वटा वडाहरु छन । बाजुङबाट शुरुवात भएको योजना सवै वडाहरुमा विस्तार गरी एक वडा एक जेष्ठ नागरिक विश्राम स्थल निर्माण कार्य अगाडि बढाईने गाउँपालिकाले जनाएको छ ।