Print

पर्वत र बागलुङबासीलाई खुसीको खबर, कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको सम्भाब्यता अध्ययन हुने

१७ जेठ, पर्वत । बिद्युत, सिंचाइ र जलयातयात समेत सञ्चालन गर्न सकिने जलासययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजनाको बिस्तृत संभाब्यता अध्ययनका लागि सरकारले यस पटक बजेट बिनियोजना गरेको छ ।

सरकारले संघीय संसदमा पेश गरेको आर्थिक बर्ष २०७५/०७६ को बजेटमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको बिस्तृत संभाब्यता अध्ययनका लागि बजेट बिनियोजना गरेको हो । प्रदेश नं ४ र ५ कै सबैभन्दा ठुलो जलबिद्युत परियोजनाको रुपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यी परियोजनाको बिस्तृत संभाब्यता अध्ययनका लागि बजेट बिनियोजना गरिएपछि स्थानियबासी हर्षित भएका छन ।

कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटिय क्षेत्रको बिकास हुने भएकाले परियोजना अघि बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, पर्वत र बागलुङ्गबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद देखि तटीय क्षेत्रका ६ वटा स्थानिय सरकारले लबिङ्ग गर्दै आएका छन । यो परियोजना अघि बढेमा पर्वत, बागलुङ्ग र गुल्मीको ठुलो भूभागमा पर्यटन, सिंचाई र यातयातका क्षेत्रमा छलाङ्ग मार्ने बिश्वास स्थानियको छ ।

जलासययुक्त कालीगण्डकी परियोजना निर्माण भएमा यस आसपासका क्षेत्रमा पर्यटन र आर्थिक बिकास हुने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको छ । ‘यो परियोजना बन्ने हो भने कुस्माबजार र आसपासका क्षेत्रमा पर्यटकीय पर्यटन र उनीहरुका लागि आवश्यक ब्यबसाय मात्रै सञ्चालन गरेपनि यस क्षेत्रका बासिन्दालाई पुग्छ’ उनले भने ‘जलासयमा जलयात्रा, कालीगण्डकी किनारमा बन्दै गरेका सडक, र अन्य पर्यटन पुर्बाधारले पर्यटकीय तथा ब्यापारिक ट्राजिन्टको रुपमा बिकास हुन सक्छ’

गएको स्थानिय निर्वाचनमा पर्वतको फलेबास नगरपालिकाका प्रमुखका उमेदवार पदमपाणी शर्माले यो परियोजनाको कुरा उठाउँदा ‘हावा गफ’ भनेर आलोचना गरियो । नगरपालिकाको प्रथम नगरपरिषदले संभाब्यता अध्ययनका लागि पहल गर्न बजेट पनि छुट्टायो । फलेबास सहित आसपासका ६ पालिकाहरुले आयोजना अघि बढाउन पहल गर्ने निर्णय सहित लगानीबोर्ड, उर्जा मन्त्रालयमा निर्णय पनि बुझाए ।

अहिले सरकारले बिस्तृत सर्वेक्षण गर्न बजेट बिनियोजन गरेकाले आफ्नो सपना आकार लिदै गएको बताउँछन फलेबासका नगरप्रमुख पदमपाणी शर्मा । ‘परियोजनाको कुरा उठाउँदा हावा गफ भनेर हल्का लिइएपनि अब यो परियोजना निर्माण हुने र फलेबास सहितका नगरहरु सम्बृद्ध बन्ने बिश्वास पलाएको छ’ उनले भने ‘सरकाले यो परियोजनालाई जसरी पनि अघि बढाउन जरुरी छ’

परियोजनाबाट प्रत्यक्ष लाभ लिन सक्ने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी यो परियोजना कार्यान्वयनमा आएमा यस क्षेत्रको आर्थिक र पर्यटन क्षेत्रमा कायपलट हुने बिश्वासमा छन । ‘एउटा मात्रै परियोजना बन्ने हो भने पनि यस क्षेत्रको सम्बृद्धिका लागि काफी छ, यसकालागि संघीय सरकार गम्भीर बन्न जरुरी छ’

पर्वतबाट निर्वाचित साँसद पदम गिरी सबैको प्रयासमा संभाब्यता अध्ययनका लागि बजेट बिनियोजन हुनु एउटा महत्वपुर्ण उपलब्धी भएको बताउँछन । ‘परियोजना अघि बढेमा चार नम्बर प्रदेशकै आर्थिक बिकासमा ठुलो योगदान पुग्छ’ उनले भने ।

नेपाल बिद्युत प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका अनुसार कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भने कालीगण्डकी किनारका हजारौ हेक्टर फाँटहरुमा सिंचाई सुबिधा दिन सकिन्छ । यसबाहेक जलासयमा झण्डै ६० किलोमिटर क्षेत्रमा जलयातयात सञ्चालन गर्न पनि सकिने अध्ययनबाट देखिएको प्राधिकरणका पुर्ब निर्देशक समेत रहेका तिवारीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नं ८ छिस्तीको बिचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर सुरुङ्गबाट बिहादी गाउँपालिकाको वडा नं ६ गोलाङ्गमा बिद्युत गृह बनाउन सकिन्छ ।

यसरी जलासययुक्त आयोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ । कालीगण्डकी गहिरो खोँच भएर बगेका कारण जलासय ६० किलोमिटर माथि मालढुंगा सम्म आइपुगेपनि धेरै जमिन अधिग्रहण गर्नु पर्दैन भने ठुला बस्ती समेत उठाउन पर्दैन ।

६० किलोमिटरमा जलयात्रा गराउँदै पर्यटन बिकास गर्न सकिन्छ । कालीगण्डकीको गहिराईका कारण यसका किनारका फाँटहरुमा सिंचाई पुग्न सकेको छैन । यो परियोजना कार्यान्वयनमा आउँदा सबै फाँटहरुमा सिंचाई पनि उपलब्ध गराउन सकिन्छ ।

एउटै आयोजनाबाट बिद्युत र सिंचाई आयोजना बनाउँदा लागत मुल्य समेत असाध्यै कम पर्ने हुन्छ । यस्तै परियोजना अन्यत्र बनाउन परेमा १५ हजार भन्दा बढी स्थानियबासी बिस्थापित हुन्छन तर यो परियोजनामा पाँच सय घर पनि बिस्थापित हुँदैनन ।

न्यूज डबली अनलाइनबाट