१५ जेठ, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ७ ले आगामी बर्षका लागि वडाको बिकासका लागि आवश्यक योजना संकलन गरेको छ । वडाभेलाको आयोजना गरि वडा कार्यालयले आज योजना संकलन गरेको हो । वडाध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार वडाबासीहरुले करिव २ सयवटा योजना सिफारिस गरेका छन् ।
बिषेश गरि कृषि, सडक, स्वास्थ्य, पूर्वाधार, शिक्षा,सामाजिक सुरक्षा लगायतका बिषयमा योजना सिफारिस भएका छन् । संकलित सुझाव उपर फेरि छलफल गरि योजनाहरुको प्राथमिकिकरण गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । वडाले सबैका योजनाहरुलाई एकत्रित गरेर ६ वटा शिर्षकहरुमा योजनाहरुको प्राथमिकिकरण गर्ने जनाईइएको छ ।
वडाभेलामा वडाध्यक्ष पौडेलले चालु बर्ष र आगामी बर्ष वडाबाट सञ्चालन भएका र गर्ने योजनाको बारेमा जानकारी प्रस्तुत गर्नुभयो । वडाले अनलाईन मार्फत वडाबासीहरुको व्याक्तिगत बिबरण र बस्तुगत बिबरण संकलन गर्ने अनलाईन डाटा संकलन शुरु गरेको जानकारी दिइएको छ ।
उक्त अनलाईन डाटामा वडाबासीहरुको पारिवारिक स्थिती, आर्थिक अवस्था, सम्पत्तीको बिबरण, शैक्षिक स्थिती लगायतका बिवरण राखिने भएको छ । व्याक्तिगत बिबरण संकलनका लागि टोली परिचालन गर्न लागिएको उक्त अवसरमा जानकारी दिइएको छ । त्यस्तै वडाभित्र रहेका यूवा वर्ष प्राबि र खरेया प्राविका लागि २ वटा ल्यापटप, प्रोजेक्टर र मिडास क्लासका लािग आवश्यक सफ्टवेयर हस्तान्तरण गरिएको छ । यि दुई बिद्यालयमा अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्ने तयारी छ ।
वडामा आयोजित कार्यक्रममा खरेया प्राविलाई समाजसेवी नयनाथ शर्माले माईक्रोफोन हस्तान्तरण गर्नुभयो । वडाले सरसफाई अभियान अन्तर्गत घरघरमा अनुगमन गरेर विभिन्न सुचक मापन गरि स्टिकर टाँस गर्ने निर्णय गरेको वडासदस्य पर्शुराम पुरीले जानकारी दिनुभयो । उहाँले ७ नम्बर वडालाई कुश्मा नगरपालिककै उत्कृष्ठ वडाको रुपमा बिकास गर्न जनप्रतिनिधीहरु लागिपरेको बताउनुभयो ।
उहाँले राजनीति पूर्वाग्रह नराखी वडाले काम गर्दै आएको र आगामी दिनमा पनि यसरी नै अगाडी बढ्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै समाजसेवी एवं जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले वडाले थालेका कार्य निकै प्रसंसनिय रहेको बताउनुभयो । वडालाई कस्तो बनाउने भन्ने जिम्मा जनप्रतिनिधी सहित वडाबासीहरुको हातमा रहेकाले सबै जिम्मेवार भएर लागेमा जस्तोसुकै योजना पनि पुरा गर्न सकिने आचार्यले बताउनुभयो ।
उक्त कार्यक्रममा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रमाकान्त सुबेदी, महेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मीकान्त शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य पर्शुराम पुरीले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव बिन्दुकुमारी शर्मा रेग्मीले गर्नुभएको थियो ।