४ फागुन, पर्वत । कालीगण्डकी करिडोर सडक खण्ड अन्तर्गत मोदीवेणीमा रहेका विद्युतका पोलहरुका कारण ट्रयाक्क खन्ने काममा समस्या परेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि आरके श्रेष्ठका अनुसार सडकको वीच भागमा यस अघि गाडिएका पोलहरुका कारण सडकको ट्रयाक्क खन्न समस्या भएको हो ।
पर्वत खण्डमा काम मन्द गतिमा भएको आरोप लागेको बेला श्रेष्ठले विद्युतका पोलहरु विद्युत प्राधिकरणले स्थानान्तरण नगर्दा आफूहरुलाई काम गर्न अवरोध सृजना भएको समेत बताए ।
कालीगण्डकी करिडोरका प्राविधिक कलाधर शर्माले कार्यालयसंग पटक पटक समन्वय गरे पनि समयमै विद्युतका पोलहरु स्थानान्तरण नगर्दा निर्माण कार्य प्रभावित भएको बताए ।
झण्डै ५ देखि ७ वटा पोलहरु तत्काल स्थानान्तरण नगर्दा निर्माण कार्य नै प्रभावित भएको छ । करीडोरको मुडिकुवा तर्फ र कुश्मा तर्फ दुवै स्थानमा विद्युतका पोलहरुले अवरोध गरेका छन ।
करिडोरको पर्वत खण्ड अन्तर्गत फलेवास खण्डमा १ सय मिटर मात्र सडक खन्न बाँकी छ ।
कुश्मा तर्फ भने झण्डै ७ किलोमिटरको सडक खन्ने काम केहि दिनमै शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
हाल करिडोरको मोदीवेणीमा मोटरेवल पुल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ ।
उता, फलेवास देखि मोदीवेणीसम्मको खण्ड अन्तर्गत मोदीवेनी पारी भिरको कटिङ सकिएको छ ।




