२१ माघ, पर्वत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एव्म प्रदेश न ४ का सह संयोजक गणेश तिमिल्सीनाले पार्टी एकता देख्न नचाहनेहरुबाटै पार्टी एकता नहुने हल्ला चलेको बताएका छन ।
शनिवार पर्वतको कुश्मामा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता तिमिल्सीनाले दुई पाटी एक भएको देख्न नचाहने भिड नै एकताको पक्षमा जस्तो देखिएको बताए ।
उनले भने–‘एमाले र माओवादी पार्टीको एकता जसरी पनि हुन्छ ।’
एकताको लागि सांगठनिक र वैचारिक विषयलाई मिलाउन मात्र समय लागेको समेत उनले बताए ।
‘दुई अध्यक्षले पार्टी घोषण गर्नुहुन्छ’ उनले भने पार्टी एकताको घोषणा पछि अरु सवै विषय आगामी महाधिवेशनबाट मिल्छ ।
सवै नेताहरुको चाहना र धारणालाई बुझेर त्यसको मर्म बमोजीम पार्टी एकता घोषणा गर्न समस्या हुने भन्दै दुई अध्यक्षको निर्णय नै पार्टीको निर्णय सम्झेर पार्टी एकताको पक्षमा लाग्नुपर्ने उनको धारणा थियो ।
पर्वतबाट निर्वाचित गठबन्धनका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले भने ‘नेतृत्वको निर्णय हामीले मान्नुपर्छ, बाँकी विषयमा महाधिवेशनमै छलफल गरौला ।’
दुई बामशक्ति एक हुने देखेपछि बाँकी शक्तिहरु आत्तिएको भन्दै अव देश चलाउने जिम्मा बामशक्तिको हातमा आएकोले कर्मचारीहरुले दिल खुलेर जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।
उक्त कार्यक्रमको आयोजना एमाले निकट नेपाल कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले गरेका थिए ।




