Print

नगरपालिकाको वडा स्तरीय घुम्ति शिविर, वडामै परिचय पत्र वितरण

१२ माघ  पर्वत । नागरिकलाई राज्यको पहुँच सहज ढंगले पु¥याउने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाले वडा वडामा घुम्ती शिबिर आयोजना गरेको छ ।

वडा कार्यालयमा सबै सेवा दिन नसकेको अवस्थामा नागरिकहरु नगरपालिकासम्म पुग्न नपरोस् भनेर घरदैलोमै घुम्ती सेवा दिन यस्तो शिबिर संचालन गरिएको हो ।

शिबिरमा जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र, अपाङ्गता परिचयपत्र, कृषि परामर्श तथा माटो परिक्षण शिबिर, पशु जाँच शिबिर लगायतका सेवाहरु एकिकृत रुपमा संचालन गरिएको छ ।

साथै वडामा संचालित योजनाहरुको वडास्तरमै पुगेर संझौता गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मोती प्रसाद शर्माले बताउनुभयो ।

नगरपालिकाले सबै वडाहरुमा १ दिने शिबिर आयोजना गरेर सबै विषयगत कार्यालयहरुको सेवा दिँदा नागरिकहरुले राज्यको अनुभूती गर्ने उहाँको भनाई छ ।

फलेवास नगरपालिकाका ११ वडाहरुमा पुगेर नागरिकलाई राज्यको सेवा घरगाउँमै दिन तथा बृद्ध बृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई सहज सेवा दिन यस्तो शिबिर आयोजना गरिएको नगरपालिकाका मेयर पदमपाणी शर्माले बताउनुभयो । उहाँले यस्ता शिबिरहरु समय मिलाएर वर्षमा २ पटक संचालन गर्ने सोच बनाएको जानकारी दिनुभयो ।

गाउँमै शिबिर संचालन हुँदा जेष्ठ नागरिक परिचयपत्र लिन समेत नगरपालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय ७५ वर्षिय बृद्ध बाबुराम दर्जीले बताउनुभयो ।

उहाँले आँफू नगरपालिका तथा सदरमुकामसम्म जान असमर्थ हुँदा हालसम्म लिन नसकेको बताउनुभयो ।

शुत्रबार नगरपालिकाको पाङराङदेखि सुरुवात भएको शिबिर आगामी माघ २४ गते वडा नं १ कार्किनेटा पुगेर समापन हुने छ ।

सो अवधिमा नगरपालिकाका सबै सरकारी सेवा तथा वडाका सबै योजनाहरुको संझौता तथा कार्यान्वयनको अवस्था समेत अनुगमन गरिने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाको स्थापना भएसँगै वडाहरुका सबै कार्यहरुलाई एकिकृत रुपमा संचालन गरिएको यो पहिलो पटक भएकाले केही समस्या हुने भएपनि आगामी दिनमा अझै जनमूखी सेवा दिन आँफूले प्रयाश गर्ने प्रमुख शर्माको भनाई छ ।