५ माघ पर्वत । कालीगण्डकी नदीको किनारमा रहेका कारण सधै बाढिको उच्च जोखिममा रहेको जिल्लाको वारीवेनीको वस्ती संरक्षण गर्ने काम शुरु भएको छ । म्याग्दी जिल्ला तर्फको किनारमा बस्ति संरक्षणका लागि अग्ला कंक्रिटका पर्खालहरुको निर्माण भएपनि पर्वत तर्फ भने हालसम्म कुनै काम हुन सकेको थिएन । कालीगण्डकी नदीको सधै उच्च जोखिममा रहेको उक्त वस्तीमा चालु आर्थिक बर्ष देखि नदी नियन्त्रण र वस्ती संरक्षण कार्यक्रम अगाडि बढेको छ ।
जलाधार नियन्त्रण कार्यक्रम अन्तर्गत यस बर्ष सरकारले विनियोजन गरेको ३ करोड रुपैंया रकमबाट निर्माण कार्य अघि बढेको छ । नदीको सधै उच्च जोखिममा रहेको उक्त वस्तीमा गत बर्ष १ करोड विनियोजन भएर पनि काम नभएको भन्दै पूर्व सांसद अर्जुन जोशीले निर्माणधिन कामको अनुगमन गरेका छन । उनले वस्ती नियन्त्रण गर्न २०५८ सालमा आफूले २० लाख विनियोजन गरेको समेत दावी गरे । त्यस पछिका दिनमा सधै उच्च जोखिममा रहेको उक्त वस्तीमा कसैले पनि चासो देखाएका थिएनन । जोशीले गत बर्ष बस्ति संरक्षणमा आफूले रकम विनियोजन गरेको दावी गर्दै आएका छन ।
चालु आर्थिक बर्षको बजेटले बगरफाँट, वारीबेनीमा पक्की वाल निर्माण भइरहेको छ । त्यसैगरी लामाखेत र मिलनचोकक्षेत्रमा तारजाली लगाउने काम भईरहेको छ । अघिल्लो बर्ष म्याग्दीको वैशरीको भिर खस्दा नदी थुनिएर खोलिदा पर्वतको वारीबेनीका दर्जनै घरमा नदी पसेको थियो । कालीगण्डकी नदीको ब्यवस्थापन नहुदा जुनसुकै बेला कालीगण्डकी नदी थुनिएर म्याग्दीको बेनीबजारसँगै पर्वतको बगरफाँट, वारीबेनी, मिलनचोकलगायतका क्षेत्र खतरामा छन् ।
जिल्लाको जलजला गाउँपालिका भित्र पर्ने उक्त वस्ती कालीगण्डकी नदीको किनार नजिकै छ । बर्षायाममा नदीमा आउने भेलका कारण वस्ती सधै जोखिममा छ । गाउँपालिका प्रमुख रामकृष्ण मल्ल भन्छन–‘नदी नियन्त्रणमा ठूलो रकम लाग्ने भएकाले गाउँपालिकाको बजेटबाट सम्भव छैन ।’ उनले केन्द्रिय र प्रदेश सरकारको ठूलो बजेटबाट मात्रै नदी नियन्त्रण सम्भव भएको बताए ।
प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारीले प्रदेश सरकारमा पर्वत क्षेत्र न १ को ऐतिहासिक बस्ती वारीवेनी संरक्षणका लागि आफूले विशेष पहल गर्ने दावी गरे । उनले विगत लामो समय देखि समस्यामा रहेको वस्तीको वारेमा महत्वपूर्ण चासो कसैले नदेखाएको बताउँदै ब्यक्तिको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता हुने दावी गरे ।
उता, प्रतिनिधि सभाका सदस्य पदम गिरीले कालीगण्डकी नदीले पुराउनसक्ने सम्भावित सवै जोखिमहरुको नियन्त्रण गर्नु आगामी सरकारको पहिलो दायित्व भएकाले बगरफाँट, वारीवेनी, मिलनचोक र मालढुंगाको वस्तीलाई सुरक्षित बनाउन सरकारले उल्लेख्य बजेट विनियोजन गर्ने दावी गरे । मानिसको बाँच्न पाउने अधिकार सुरक्षित गर्नु सरकारको दायित्व हो उनी भन्छन–‘हालसम्म विनियोजन नभएको बजेट विनियोजन गरी बस्ती संरक्षण र नदी नियन्त्रणमा मेरो विशेष भूमिका रहन्छ ।’
जिल्लाको सदरमुकाम पछि ठूलो बजार बस्ती रहेको क्षेत्र वारी वेनी हो । म्याग्दी सदरमुकाम वेनी बजारसंग जोडिएको वारी वेनीका सयौ घरहरु नदी कटान र बाढिको उच्च जोखिममा रहेकाले त्यसको दिर्घकालीन संरक्षण गर्न स्थानीय बासीहरुले पटक पटक माग गर्दै आईरहेका छन ।




