१५ पुस, पर्वत । सामाजिक क्षेत्रमा काम शुरु गरेका केहि बर्षमा एक युवाको अकल्पनीय निधन भयो । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय २६ बर्षको एक युवाको मृत्युले पर्वत सदरमुकाम स्तब्ध बन्यो । अग्लो शरीर, हँसिँलो चेहेरा, मिजासिलो बोली । कुश्माको पकुवामा जन्मिएका सन्तोष पौडेल आफ्नो ब्यवासायसंगै सदरमुकाम कुश्मा बजारमा बस्थ्थे । राजनैतिक रुपमा चेतनशिल पौडेल सामाजिक संस्थाको रुपमा रोट्रायाक्क क्लब अफ पर्वतका अध्यक्ष समेत थिए ।
अध्यक्षको कार्यकाल नसकिँदै उनको यो संसारबाट विदा भए । अध्यक्षको कार्यकालमा उनले गरेका सामाजिक परिर्वतनका केहि साना उदाहरणहरुले उनी त्यो क्षेत्रमा स्थापीत भईसकेका थिए । धेरैको मन जितेका थिए । उनी २०७३ साल जेठ २८ गते पारिवारिक कामको शिलशिलामा पोखरा जाँदा आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी यो संसारबाट विदा भए । उनको मृत्युले स्तब्ध बनेको जनसागरले उनी प्रतिको श्रद्धाञ्जली उनले चालेका कदमहरुको निरन्तरताबाट हुने विश्वास लियो । त्यो विश्वासले सन्तोष स्मृति प्रतिष्ठानको जन्म भयो । प्रतिष्ठान स्थापनार्थ झण्डै झण्डै १ सय ५० जनाले कोषमा रकम जम्मा गरेका छन । जम्मा भएको १४ लाख रकमबाट अहिले प्रतिष्ठान मार्फत जेहेन्दार र असाहय गरिबहरुलाई सहयोग प्रदान कार्य शुरु गरिएको छ ।
प्रतिष्ठानको शुक्रबार कुश्मामा सम्पन्न अधिवेशनमा पनि केहि असहाय र जेहेन्दरा बालबालिकालाई सहयोग गरिएको छ । शुक्रबार सम्पन्न अधिवेशनको प्रमुख अतिथिको रुपमा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य पदम गिरी उपस्थित थिए । राजनैतिक रुपमा गिरी कै सिद्धान्तबाट प्रेरीत पौडेलका अधिकांश जिवित गतिविधिहरु संगै हुन्थे । सहकार्यमा निकै इमान्दारीता देखाउने पौडेलको अकल्पनीय निधनले विक्षिप्त गिरी गाउँमा आयोजीत बधाई र मतदातलाई धन्यवाद दिने कार्यक्रमबाट आउँदा ढिला गरे । ढिला गरी प्रतिष्ठानको कार्यक्रममा आएका गिरीको मूहारमा कुनै रौनक थिएन । सहकार्यको छोटो अवधिमा पौडेलेले जितेको मनबाट भावविह्लि बनेका गिरीले पौडेलको तस्विरमा श्रद्धाञ्जली अर्पण गरे । आँखा र अनुहारमा गमिलोपन थियो । कार्यक्रममा उपस्थिती झण्डै १ सय सहभागी भावूक देखिन्थे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले सन्तोष पौडेलले सामाजिक क्षेत्रमा गरेको कार्यको स्मरण गराउँदै उनको सपनालाई साकार पार्न सवैको उत्तिकै भूमिका रहेको बताएका थिए । कार्यक्रममा गिरीसंगै फलेवास नगरपालिकाका पदमपाणी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला भारती, ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, प्रतिष्ठानका सल्लाहकार गोविन्द पहाडी, सुभाष पन्त लगायतले बोलेका थिए भने कार्यक्रममा कोषाध्यक्ष विवेक पौडेलले आर्थिक प्रतिबेदन र उपाध्यक्ष रमेश पौडेलले स्वागत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव अच्युत तिवारीले गरेका थिए ।
सोही साधारणसभाबाट प्रतिष्ठानको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष पुनः नारायण पौडेल चयन भएका छन् भने उपाध्यक्षमा रमेश पौडेल, सचिवमा मिलन पौडेल, कोषाध्यक्षमा विवेक पौडेल र सहसचिवमा गणेश पौडेल रहेका छन् । कार्यक्रममा आगलागी पिडित जलजला गाउँपालिका ७ का चन्द्रविर सुवेदीलाई खाद्यन्न सहित लत्ताकपडा प्रदान गरिएको थियो ।




