Print

बाजुङमा बामगठबन्धनको चुनावी सभा, देउपुरमा एक दर्जन युवा एमालेमा

३० कार्तिक, पर्वत । संयुक्त बाम गठबन्धनको संयुक्त चुनावी सभा मोदी गाउँपालिकाको बाजुङमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एव्म समानुपातिक उमेदवार विजय गुरुङले नेपाली कांग्रेसले अनेकन प्रोपाण्डहरु मच्चाईरहेको आरोप लगाए । हार निश्चित भएपछि मत खरिद विक्रीमा लाग्ने कांग्रेसको चरित्रलाई यस पटक जनताले पराजित गराईछाड्ने समेत बताए ।

कम्युनिष्टको बर्चश्व रहेको बाजुङमा आयोजीत सभालाई सम्बोधन गर्दे प्रतिनिधि सभाका उमेदवार पदम गिरीले शान्ति र विकासका लागि बामगठबन्धनको देशमा परिहार्यता रहेको बताए । उनले लोकतन्त्र सधै नेपाली कांग्रेसबाट खतरामा पर्दै आइरहेको भन्दै लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि बामगठबन्धनले चुनाव जित्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र १ का उमेदवार नेत्र अधिकारीले देशमा लामो समय राजनैतिक परिर्वतनको लागि युद्ध भएकाले अव भने आर्थिक विकासको युद्ध हुने जिकिर गरे । उनले आर्थिक सम्बृद्धि मार्फत देश विकास गर्ने उद्घोष गर्दै बामगठबन्धनले नै आर्थिक विकास गर्ने बताए । कार्यक्रममा एमाले नेता तथा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, एमाले उपाध्यक्ष भक्त कुवंर, नेता उदय सुवेदी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसैवीच मोदी गाउँपालिकाको देउपुरमा आयोजीत चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन युवा नेकपा एमालेमा प्रवेश गरेका छन । उनीहरु बामगठबन्धनले देश विकासको अग्रगति पहिल्याउने भन्दै एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाईय एमाले अध्यक्ष पदम गिरी लगाएतका नेताहरुले टिका र खादा लगाई पार्टी प्रवेश गराएका थिए ।