Print

कांग्रेसको चुनावी सभा कटुवाचौपारीमा

२१ कार्तिक, पर्वत । नेपाली काँग्रेस पर्वतले आजदेखि औपचारिक रुपमा चुनावी प्रचारप्रसार सुरु गरेको छ । कटुवाचौपारीमा बृहत आमसभा गरी नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु गरेको हो ।

बामगठबन्धनले लोकतन्त्र नै धरापमा परेको भन्दै उनीहरुले अधिनायकबादका बिरुद्ध काँग्रेसले जित्नैपर्ने समेत बताएका थिए । चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीले बामगठबन्धनका बिरुद्धमा नेपाली काँग्रेसमा जनलहर आएको बताए । उनले पुन अर्को निर्वाचनमा मत खसाल्ने वातावरण र लोकतन्त्र जोगाउन पनि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नैपर्ने बताए । लोकतन्त्र र पर्वत जिल्लाको विकासको लागि काँग्रेसले जित्नुको विकल्प नभएको भन्दै उनले फराकिलो अन्तरले काँग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।

चुनावी सभामा पर्वत क का प्रदेशसभा सदस्य पदका उम्मेदवार नवराज गुरुङले अहिले पर्वतमा भएका हरेक विकास काँग्रेस नेतृत्वमै भएको भन्दै अव काँग्रेसले बाँकी कामलाई पुरा गर्ने बताए । काँग्रेस नै जनताको बास्तविक पार्टी भएको भन्दै उनले काँग्रेस बोलेपछि पुरा गरेर छाड्ने बताए । उनले काँग्रेसप्रतिको जनताको माया र लहरले पर्वतका तीनै सिट जितेरै छाड्ने दाबी गरे ।

पार्टी सभापति खिमप्रसाद भुसाल र पूर्वसभापति लालकाजी गुरुङले मुलुकलाई अधिनायकबादमा जानबाट रोक्दै लोकतन्त्रको स्थायित्व र नयाँ संविधानको पूर्ण कार्यान्वयन तथा समृद्धिका लागि काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए । काँग्रेस नेता राम शर्मा पौडेलले विकास र समृद्धिका लागि सबै मतपत्रमा रुखमै भोट खसाल्न आग्रह गरेका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रणबहादुर क्षेत्रीले लोकतन्त्र बचाउनका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आब्हान गरे । राप्रपा पर्वतका नेता गंगाबहादुर दमाईले काँग्रेसका नेताहरु अर्जुनप्रसाद जोशी र नवराज गुरुङ विकासबादी नेता भएकोले रुख चिन्हमा मत हालेर जिताउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका उपमहासचिव एवम् प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार ललितकला गुरुङ, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, नेबिसंघका नेता राजिब लामिछाने, कुश्मा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कृष्ण शर्मा लामिछानेलगायतले बोलेका थिए ।