१६ कार्तिक, पर्वत । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज दलका उमेदवारहरुले उमेदवारी दर्ता गर्दैछन । दोस्रो चरणका लागि हुने आगामी मंसिर २१ गतेको निर्वाचनका लागि उमेदवारहरुले उमेदवारी दर्ता गर्न लागेका हुन । दोस्रो चरणको निर्वाचन हुने देशका ४३ जिल्लामा जस्तै आज पनि पर्वतमा उमेदवारी दर्ता हुँदैछ ।
जिल्लामा मुख्य गरी दुई वटा शक्ति वीच हुने प्रतिस्पर्धामा बाम मोर्चाको रुपमा नेकपा एमाले र माओवादीले आफ्नो उमेदवारी दर्ता गराउँदैछन भने नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराउँदैछ । एमालेले प्रतिनिधि सभाको लागि पार्टी जिल्ला अध्यक्ष पदम गिरी प्रदेश निर्वाचनका लागि क्षेत्र न १ क बाट नेत्र अधिकारी र क्षेत्र न २ बाट विकास लम्सालको उमेदवारी यस अघि नै टुंगाएको छ ।
उता, नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि अर्जुन जोशी र क्षेत्र न १ मा नवराज गुरुङ, क्षेत्र न २ मा राजेन्द्र तिवारीको उमेदवारीलाई अन्तिम रुप दिएको छ । सवै उमेदवारहरुको मनोनयन दर्ता आज पर्वत सदरमुकाम कुश्मा बजारमा हुदैछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दिउँसो २ बजे भित्र साना दलहरुको उमेदवारीको समय तोकिएको छ भने, २ बजे नेकपा एमालेले मनोनयन दर्ता गर्दैछ । ३ बजेको समय भने नेपाली कांग्रेसका लागि तोकिएको र बाँकी ४ बजे माओवादी केन्द्रका लागि समय छुटाइएको छ । दलहरुको आपसी छलफलका आधारमा उक्त समय निर्धारण गरेका हुन । यद्यपि बाम मोर्चाको रुपमा माओवादी केन्द्र र एमालेले भने संगै उमेदवारी दर्ता गराउने गरी तयारी गरिरहेका छन ।
उनीहरुले दिउँसो बान्द्रवीडि चौरमामा खुला सभाको आयोजना गरेका छन । उक्त सभालाई सम्बोधन पछि संयुक्त मोर्चाले बाजा गाजा सहित उमेदवारी दर्ता गराउने एमाले पार्टी उप सचिव गोविन्द पहाडीले जानकारी दिए । कांग्रेसले पनि तामझामका साथ उमेदवारी दर्ता गर्ने गरी तयारी गरिरहेको पाटी सचिव युक्त श्रेष्ठ बताउँछन ।




