१३ असोज, पर्वत । हिन्दु नेपालीहरुको महान पर्व विजयादशीको आज नवौ दिन कुश्मा नगरपालिकाको दुर्लुङकोट र खौलाकोटमा विशेष पुजाआजा गरिएको छ । दुर्गा भवानी शक्ति स्वरुपा देवीले असत्य माथि सत्यको विजय हासिल गरेको यो पर्वका दिन कुश्मा स्थित दुर्लुङकोट र खौला कोटमा सयौ पशुको बलि समेत दिइएको थियो ।
दुर्लुङकोटको धार्मिक रुपमा आफ्नै महत्व रहेको छ । परापूर्वकालमा राजाहरुले समेत विशेष महत्वका साथ पुजा अर्चना गर्ने यस कोटमा विशेष गरी शिवालय, चुवा, दुर्लुङ र खुर्कोट लगाएतका स्थानबाट भत्तजनहरु पशु बलि सहित पुजा आजा गर्ने गर्छन । उता, खौला कोटमा भने पकुवा, पिपलटारी, ठुलिपोखरी र खौला लगाएतका क्षेत्रबाट हजारौ भत्तजनहरु विशेष पुजाका लागि कोटमा पुगेका थिए ।
यसै वीच जिल्लाको जलजला गाउँपालिका स्थित कोटघरमा आज विशेष मेला लागेको छ । दशै मेलाको आज अन्तिम दिन पशु बलि सहित हर्ष बढाई र विविध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भएका थिए । कोट घरमा हजारौ भत्तजनहरुको उपस्थिती थियो । जिल्लाका अन्य कोटहरुमा समेत आज विशेष पुजा आजा सहति पशु बलि दिइएको छ ।




