Print

बागलुङ र पर्वतबासीलाई खुशीको खबर, बलेवा विमानस्थलबाट लाइट हेलिकप्टरले दशैको नवमी देखि उडान शुरु गर्ने

११ असोज, पर्वत ।  बलेवा विमानस्थालबाट आन्तरिक तथा बाह्य पर्यटकलाई अन्नपूर्णक्षेत्रको दृश्यवलोकन गराउने उदेश्यले हेली सेवा दिन थालेको लाईट हेलिकप्टरले आफ्नो व्यवसायीक उडान शुरु गर्न लागेको छ । गतमहिनादेखी नै बलेवाबाट उडान थाल्ने तयारी गरेको अल्ट्रालाईट हेलिकप्टर विमानस्थलमा निमार्ण हुदैं गरेको ह्याङगरसहितका केही भौतिक संरचनामा भएको ढिलाईका कारण निर्धारित समयमा शुरु हुन सकेको थिएन ।

अहिले हेली एयर नेपालसँग उपलब्ध दुईवटा अल्ट्रालाईट हेलिकप्टरले पोखराबाटै केही उडान गरिरहेको भएपनि यसले नियमित व्यवसायीक उडान भने अझै शुरु गरेको छैन । नियमित व्यवासयीक उडानका लागी थप अर्को ५ सिट क्षमताको हेलिकप्टर ल्याउने प्रक्रियामा रहेकाले छिट्टै सो क्षेत्रमा नियमित व्यवसायीक उडान थाल्ने हेलीएयर नेपालको योजना छ । पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई पोखराबाट अन्नपूर्ण क्षेत्रको दृश्यअवलोकन गराउदैं बलेवाको कफि भिजिट गराउने हेली एयर नेपालको तयारी छ ।

हेलीएयरको सेवासँगै कास्की बाग्लुङ र पर्वत जिल्लाका महत्वपूर्ण पर्यटकिय क्षेत्रको प्रचारप्रसारका साथै बलेवामा पर्यटकीय गतिविधी बढ्ने हेलीएयर नेपालका …..लामिछाने बताउछन । तत्काल सञ्चालनमा आएका दुईवटा अल्ट्रालाईट हेलीकप्टरले खासगरि पर्यटक लक्षित सेवा दिने भएपनि आउने प्रक्रियामा रहेको ५ सिटेहेलिकप्टरले भने बलेवा र यसआसपासका क्षेत्रलाई समेत एयर एम्बुलेन्सको काम गर्ने उनको बुझाई छ । लाईटको उडानका लागी सामान्य हेलीकप्टरको भन्दा केही फराकिलो धावनमार्गको आवस्यक पर्ने भएकाले बलेवा विमानस्थलमार्फत यसको नियमित उडानको लागी विमानस्थलको भौतिक अवस्थामा सुधार गर्नुपर्ने हुन्छ ।

खेलमैदानको रुपमा रहेको विमानस्थलका बीचमा भएका अनावस्यक संरचना हटाउने र अधिकांश समय हेलीकप्टर सोही विमानस्थलमा रहने भएकाले राख्ने तथा प्राविधीक चेकजाँच गर्न मिल्ने ह्यांगरको निमार्ण गर्ने काम अहिले हेलीएयरमार्फत भईरहेको छ । यो सम्पन्न भएसँगै दुई साना अल्ट्रालाईट हेलिकप्टर र थप अर्को ५ सिट क्षमताको हेलिकप्टरले नियमित उडान थाल्नेछन । यथासक्य बलेवा विमानस्थलबाटै उडान थाल्ने तीव्र तयारी गरिरहेको हेलीएयरले दशैको नवमी शुक्रबारका दिन बलेवा विमानस्थलमा परिक्षण उडान गर्नेछ ।