३१ भदौ , पर्वत । पर्वत पर्वतको एक मात्र दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहिन स्रोत कक्षा अन्तर्गत कुश्माको शिवालय मावि कक्षा १२ मा अध्ययनरत लैला खातुनको मृगौला र पित्तथैलीमा पत्थरी देखिएपछि उपचारमा समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले १० हजार धरौटी रकम मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन ।
पिडित दृष्टिविहिन युवती खातुन अस्पतालको बेडमा छटपटाइरहँदा उनका बाबु मोहम्मद अब्दुर रहमन दाताको खोजिका लागि विभिन्न स्थानमा धाउन बाध्य भएका छन् । ‘ सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन’ उनले भने ‘छोरीलाई १० हजार रुपैँया जुटाउन सकेपनि धेरै सहयोग हुने थियो’ उनले छोरी लैलाको लागि अस्पतालले समेत रकम छुट गरेर १० हजार मात्रै माग्दा पनि आफुले उपलब्ध गराउन नसकेको दुखेसो गरे ।
२० बर्षिय दृष्टिविहिन युवती लैलाले शिवालयमा कक्षा १२ मा पढ्दै आएकी छिन् । उनी अध्ययनरत विद्यालयका दृष्टिविहिन शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि आफु सक्दो सहयोग प्रदान गर्न सहयोग दाता समक्ष आग्रह गरेका छन् । उनका वुवाले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा लाँदा पैसा नभएका कारण फिर्ता गर्नुपरेको छ ।
पेट दुख्ने समस्या आएपछि वुवाले अस्पतालमा पु¥याएका थिए ।अस्पतालमा १० हजार धरौटी राख्न भने म संग थिएन पैसा नभएर अस्पतालवाट फिर्ता ल्याउनु प¥यो गहभरि आँसु पार्दै अव्दुलले भन्नुभयो । लैलाको उपचारमा सहयोग गर्न विद्यालयका पूर्व प्राचार्य डाक्टर चुडामणी शर्माले पनि आग्रह गर्नुभएको छ । तत्कालका लागि १० हजार र त्यसपछि उपचारको शिलशिलामा लाग्ने अन्य खर्च लाग्ने भएपछि आर्थिक अवस्था कमजोर रहेको खातुन परिवारलाई सकेको सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।– रोशन तिवारी




