Print

बहुप्रतिक्षित कुश्मा नगरसभाको तयारी शुरु, यसरी छानिदैछन वडा स्तरमा योजनाहरु

२३ पर्वत भदौ । राजनैतिक दलहरु वीच रहँदै आएको विवाद टुंगीएसंगै कुश्मा नगरपालिकामा नगर सभाको तयारी शुरु भएको छ । नगर सभाको लागि नगरका १४ वटै वडामा योजनाहरुको छनौट प्रक्रिया अगाडि बढेको छ । नगरप्रमुख रामचन्द्र जोशीले दिएको जानकारी अनुसार वडा स्तरका योजनासंकलन कार्य शुरु भएको हो ।

वडा स्तरमा योजनाको छनोटसंगै नगर सभाको तयारी भईरहेको जोशीको भनाई छ । जोशीले सवै वडाका योजनाहरु संकलन भईसकेपछि नगरसभा केहि दिनमै हुने पर्वत न्यूजलाई जानकारी दिए । उनले वडा कमिटि योजना संकलनमा ब्यस्त भएकाले सवै वडाबासीहरुले आफ्ना आफ्ना योजनाहरु वडास्तरमा गएर राख्न अनुरोध गरे ।

पर्वत न्यूजसंगको कुराकानीमा जोशीले झण्डै ५० करोड बराबरका योजनाहरु तयार गर्ने आफूहरु जुटेको समेत जानकारी दिए । लामो समयसम्म जनप्रतिनिधिहरुको विवादका वीचमा रहेकाले नगरले गति लिन समस्या रहेको बताउँदै जोशीले पर्वत न्यूजलाई अवबाट नगरका विकासहरु उत्साहजनक रुपमा अगाडि बढ्ने समेत जिकिर गरे ।

लामो समय देखिको विवाद टुंगीएसंगै कुश्मा नगरपालिकाको नगर परिषदको लागि बाटो खुलेको हो । नगरपालिकाले निर्माण गर्नुपर्ने निर्देशिकामा सहमती जुटेसंगै नगरपालिकाको लामो समयसम्मको विवाद समाधान भएको छ । योसंगै नगरबासी उत्साहित बनेका छन ।
निर्देशिकामा सहमती नजुटेमा नगरप्रमुखले अन्तिम निर्णय प्रयोग गर्ने वा बहुमतले निर्णय भन्ने विवादका वीच अन्यौल ग्रस्त बनेको कुश्मा नगरपालिकाको विवाद अन्ततः विहिबार समाधान भएको थियो ।

सहमतीमा सवै निर्णय प्रक्रियामा नगरप्रमुखले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरा उल्लेख भएपछि नगर कार्यपालिकाको विवाद समाधान भएको बताइएको छ । नगर कार्यपालिका सञ्चालन कार्य निर्देशिकाको ३ वटा बुँदा मध्ये तेस्रो बुँदामा सहमती नजुटेमा र बहुमतले समेत निर्णय हुन नसकेमा नगरप्रमुखले एक्लै निर्णय लिन सकिने बुँदामा एमाले निकट नगरकार्यपालिका सदस्यहरुले असहमती जनाएका थिए ।

उनीहरुले आफूहरुको नगरकार्यपालिकामा बहुमत भएकाले नगरप्रमुखले एक्लै निर्णय गर्न नसकिने अडान लिँदै आएका थिए । विहिबार भएको सहमतीमा चौथो बुँदा थपेर नगरप्रमुखले निर्णय लिँदा नगरप्रमुख सहितको बहुमतलाई आधार बनाएर निर्णय लिने र नगरकार्यपालिकाको मर्म बमोजीम गर्ने कुरा उल्लेख गरिएको बताइएको छ ।