Print

कुश्मा नगरमा विकासको बाटो खुल्यो : यी हुन प्रदेशकै उत्कृष्ट नगरपालिका हुनसक्ने कुश्माका आधारहरु

(गणेश गिरी)


स्थानीय तहको निर्वाचन पछि अवरुद्ध कुश्मा नगरपालिकाकामा सहमती जुटेको छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगरप्रमुुख र एमालेको तर्फबाट निर्वाचित नगरकार्यपालिकाका सदस्यहरु वीच सहमती नजुट्दा विवादीत बनेको कुश्मा नगरपालिकामा अन्ततः सहमती जुटेको हो । सहमतीसंगै कुश्मा नगरपालिकामा विकासको मूल फुट्ने नगरबासीले अपेक्षा गरेका छन ।

पर्वतको सदमरमुकाम समेत रहेको कुश्मा नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो । ३ बर्ष अगाडि स्थापना भएको नगरपालिकामा साविकका ११ वडा गाविसहरु मिलेर बनेको छ । आर्थिक, भौतिक र सेवा प्रवाहको हिसावले प्रदेशकै उत्कृष्ट नगरपालिका बनाउन सकिने कुश्मा नगरपालिकामा थुप्रै आधारहरु रहेका छन । निर्वाचित जनप्रतिनिधिहरु वीच बिहिबार जुटेको सहमतीसंगै नगरपालिकाले बजेट ल्याउन सक्ने भएको छ । यसैगरी नगरपालिकामा गठन हुने सवै विषयगत समिति गठन भएका छन । सहमती अनुसार आगामी असोज पहिलो साता बजेट नीति तथा कार्यक्रमहरु ल्याउनका लागि पहल हुने भएको छ ।

यो सहमतिसंगै जिल्लाका ७ वटा स्थानीय तह मध्ये जिल्लाकै ठूलो नगरपालिकामा विकासका योजनाहरु अगाडि बढ्नेछन । प्रदेशको मुख्य क्षेत्रमा रहेको कुश्मा नगरपालिकालाई आर्थिक हिसावले विकसित गर्ने हो भने यहाँ थुप्रै सम्भावनाहरु समेत रहेका छन ।

जलश्रोत : जलविद्युत

कुश्मा नगरपालिकामा १० मेगावाट क्षमताको तल्लो मोदी खोला १ जलविद्युत आयोजना सञ्चालनमा छ भने तल्लो मोदीखोला २ जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छ । नीजि क्षेत्रको लगानीमा सञ्चालन भएको र सञ्चालन हुने जलविद्युत आयोजनाबाट नगरपालिकाले थूपै लाभ लिनसक्नेछ । रोयल्टी वापत आउने रकम र प्रभावित क्षेत्रमा लोडसेडिङ मुक्त बनाउन नगरपालिकाले पहल गरेमा आर्थिक श्रोत जुट्नुका साथै नगरका १४ वटै वडाहरु २४ घण्टा झिलिमिलि हुनेछन । यसले नगरको आर्थिक विकासमा थप सहयोग पुग्नेछ । उद्योग कलकारखाना सञ्चालन देखि विद्युतबाट उपभोग्य वस्तुमा नगरबासीले उपयुक्त सन्तुष्टि हासिल गर्नसक्नेछन ।

मध्यपहाडी लोकमार्ग

नेपालको पूर्व र पश्चिम जोड्ने राष्ट्रिय गौरबको लोकमार्ग मध्य पहाडी लोकमार्गको अधिकांश भाग कुश्मा नगरपालिका भित्र पर्छ । सम्भावित प्रदेश राजधानी पोखरा देखि ५७ किलोमिटर मात्रै टाडा रहेको कुश्मामा पर्ने मध्यपहाडी लोकमार्गका कारण कुश्मा थप बजारको रुपमा स्थापीत हुने लोकमार्गको गुरुयोजनामा समेत उल्लेख छ । यसले बजार क्षेत्रको विस्तारीकरण र पूर्व पश्चिम चल्ने सवारी साधनको चापका कारण यहाँको आर्थिक विकास अग्रगतिमा अगाडि बढ्ने देखिन्छ ।

प्रचूर पर्यटकीय सम्भावना

प्रदेश नं ४ मा रहेको महत्वपूर्ण पर्यटकीय स्थल मध्ये पर्वतमा पर्ने मुख्य पर्यटकीय सम्भावनाहरु धार्मिक र भौगोलिक रुपमा निकै सम्भावनायुक्त छ । पञ्चासेको लेक कुश्मा नगरपालिकासंग जोडिएको छ भने, दुर्लुङ स्थित कोट अग्लो स्थलको धार्मिक पर्यटकीय सम्भावनायुक्त स्थल हो । प्रदेशमा बहुचिर्चत पोखराको गुप्तेश्वर गुफा भन्दा निकै ठूलो सम्भावना बोकेका गुफाहरु गुप्तेश्वर, अल्पेश्वर र लालेश्वर गुफा समेत कुश्मा नगरक्षेत्रमा पर्दछन । बार्षिक यि स्थलमा धार्मिक पर्यटकहरुले गर्दा नगरक्षेत्रमा धार्मिक पर्यटक भित्राउन सकिने छ । सह्रस्रधारा धाम, मोदीवेणी दिब्यधाम, शिवका देवालयहरुमा धार्मिक पर्यटनहरु भित्राउन सकिनेछ ।

अर्को तर्फ नेपालकै नमुना पर्यटकीय सम्भावनायुक्त नेपालकै अग्लो पुल, यान्त्रिक तुइन र निर्माणधिन बञ्जिजम्पले प्रदेशको महत्वपूर्ण पर्यटकीय स्थल कुश्मा नगरपालिका बन्नेमा द्धिमत छैन । एकातर्फबाट बगेको कालीगण्डकी नदी र अर्को तर्फ सुसाउँदै गरेको मोदीखोलाले जलश्रोतको श्रोतमा जिल्लामा जलपर्यटक भित्राउने निश्चित प्रायः छ । कुश्मा नगरपालिका १ बाट शुरुवात हुने कालीगण्डकी नदी माथिको जलयात्राले पनि कुश्मालाई प्रदेशमा उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । आर्थर, दुर्लुङ र खौला क्षेत्रमा होमस्टे सञ्चालन गरेर घरबास कार्यक्रम मार्फत समेत पर्यटकहरुलाई नगर क्षेत्रमा घुमाउने सम्भावना अधिक रहेको छ ।

आन्तरीक आर्थिक श्रोत

नगर क्षेत्रमा आम्दानीको थुप्रै सम्भावनाहरु छन । बार्षिक करोडौ रकम नगरले भित्राउन सक्नेछ । सदरमुकाम समेत रहेको नगरमा रहेका हजारौं पक्कि घरहरुबाट लिइने एकिकृत सम्पत्तिकर, नगरमा रहेका हजारौ सवारी साधनबाट लिइने सवारीकर, पर्यटकहरुको लिन सकिने पर्यटन कर र ब्यवसायबाट लिन सकिने कर ठूला करहरु हुन । जुन कर असुल गर्न पनि सहज छ भने आम्दानीको मुख्य श्रोतहरु पनि हुनसक्छ । अर्को तर्फ कालीगण्डकी नदीबाट निकाशी हुने नदीजन्य वस्तुको निकासी करले पनि नगरमा ठूलो रकम भित्रन सक्ने सम्भावना छ । यी बाहेक थुप्रै शीर्षकमा नगरपालिकाले कर संकलन गर्न सक्नेछ ।

कृषि उत्पादन

नगर क्षेत्रमा पाङ, चुवा, पकुवा, कटुवाचौपारी जस्ता क्षेत्रहरु उत्पादनका लागि निकै समथर भूभागमा पर्दछन । यी क्षेत्रमा सिंचाई प्रवन्ध मात्र नगरपालिकाले गर्न सकेमा यी क्षेत्रमा निकै ठूला कृषि फार्महरु सञ्चालन हुन सक्नेछन । जसले उत्पादनमूलक कार्यमा नगरबासी लाग्नेछन भने आयातलाई विस्थापीत गरी कृषिजन्य वस्तु ठूलो मात्रामा निर्यात गर्न समेत नगरपालिका सक्षम हुनेछ । जसले कृषकको आम्दानीको स्तरमा बृद्धि हुनसक्नेछ । ठूलो मात्रामा कृषिजन्य वस्तु उत्पादन हुँदा त्यस वापतको कर समेत नगरपालिकाको आम्दानी हुनसक्नेछ ।

शिक्षा र स्वास्थ्यमा विकास

नगर क्षेत्रमा जिल्लाकै ठूला नीजि विद्यालयहरु र ठूला क्याम्पसहरु समेत छन । ३ वटा क्याम्पस र आधा दर्जन नीजि विद्यालयहरुले शैक्षिक अवस्थामा सुधारमा सहयोग पुराउनेछन । नगरले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विदालयहरुको भौतिक अवस्थामा सुधार गर्दै गुणस्तरीय शिक्षाका योजनाहरु लागू गरेमा शैक्षिक हिसावले कुश्मा नगरपालिका प्रदेशकै नमुना नगरपालिका बन्नसक्नेछ ।

पूर्वाधार विकास र यातायात

बर्षातमा समेत सवै वडाहरुमा सवारी साधन चल्नसक्ने कच्चि सडकहरुको सञ्जालमा रहेको नगरपालिका भित्र केहि वडाहरुमा पुग्ने सडकको कालोपत्रे शुरुवात भईसकेको छ । केहि बर्षमा सवै वडामा पक्कि सडक बनाउँदा सवै प्रकारको सेवा ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न सकिनेछ । यसले नगरक्षेत्रलाई विकासको गतिमा अगाडि बढाउन थप सहज हुनेछ ।

यी र यस्ता थुप्रै सम्भावनाहरुलाई जनप्रतिनिधिले बुझन सकेको खण्डमा प्रदेश न ४ को उदाहरणीय नगरपालिकाको रुपमा कुश्मा नगरपालिका हुनेमा द्धिमत देखिदैन । जनप्रतिनिधिहरुको इच्छाशक्ति र राजनैतिक दलहरुको सहयोग समर्थन साथै नगरबासीहरुको रचनात्मक र सकारात्मक सुझालाई नगरपालिकाले ग्रहण गर्दै समिक्षात्मक र दुरदृष्टि योजनाका साथ अगाडि बढ्न सकेमा कुश्मा नगरपालिकाको भविश्य उज्वल देखिन्छ ।

=================================================================================