१५ भदौ, पर्वत । पर्वतको यस वर्ष वर्षे आलु उत्पादनमा ५० प्रतिशले बढेको छ । आलु उत्पादनको पकेट क्षेत्र मानिने उत्तरी पर्वतका अधिकांश वडामा अनुकूल मौसम भएसँगै आलु उत्पादन बढेको हो । आलुका लागि अनुकूल मौसमका कारण जिल्लाको देउराली, क्याङ्ग, बनौं, शालिजा, धाईरिङ, बाँसखर्क, भोक्सिङ्गलगायतका गाविसमा आलु उत्पादनमा उल्लेख्य वृद्धि भएको कृषक बताउँछन् ।
गत वर्ष आलुमा लागेको रोगका कारण उत्पादनमा ह्रास आउँदा चिन्तित बनेका कृषकहरू यस वर्ष उत्पादन बढेसँगै उत्साहित बनेका छन् । यस वर्ष आलु लगाएदेखि नै उपयुक्त मौसम परेकाले आलु उत्पादन सोचेभन्दा राम्रो भएको क्याङ्ग लेस्पारका कृषक नरसिंह पुनले बताउनुभयो । गत वर्षको तुलनामा ५० प्रतिशले बढेको छ, उहाँले भन्नुभयो, यस क्षेत्रको प्रमुख खाद्यान्न बाली भएकाले कृषकसमेत हर्षित बनेका छन् ।
जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार यस वर्ष जिल्लामा ३५ सय ५० मेट्रिक टन आलु उत्पादन भएको बताउनुभयो । उहाँका अनुसार २१ करोडभन्दा बढीको आलु उत्पादन भएको र त्यसबाट कृषकहरूले उल्लेख्य फाइदा लिएको बताउनुभयो । जिल्लाको माथिल्लो भागमा प्रत्येक कृषकहरूले आलुखेती गर्ने र त्यसबाट कम्तीमा ५० हजारदेखि दस लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले कृषकहरूले घरबाटै ५० देखि ६० रुपियाँ प्रतिकिलोका दरमा आलु बिक्री गरिरहेका छन् । पर्वतका उपल्लो भागमा उत्पादन हुने आलु स्वादिलो हुने भएकाले आलु लिन बागलुङ, कुस्मा, बेनी, पोखरा, बुटवलदेखि नै व्यापारीहरू जाने गरेका छन् । गाउँगाउँमा गाडीको सहज सुविधा भएकाले बेच्न कुनै समस्या नभएको कृषक रनबहादुर पुन बताउनुहुन्छ । आलु उत्पादन गर्नसके बजारको कुनै समस्या छैन उहाँले भन्नुभयो, उत्पादन गर्नसके घरबाटै बिक्री हुने गरेको छ ।




