१७ साउन, पर्वत । २०५४ सालको विरासत आज पर्वतमा एमालेले दोहोराउने निश्चित प्रायः छ । स्थानीय निकायको संरचना रहँदा आज भन्दा २० बर्ष अगाडि भएको निर्वाचनमा बहुमत सहित एमालेले जिल्ला विकास समितिका सवै पदाधिकारी सहित सदस्यहरु जितेको थियो । त्यसको ठिक २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेले सोहि अनुपातमा स्थानीय तहहरुमा विजयी हासिल गरेका कारण २० बर्ष पछि एमालेले इतिहास दोहोराउने निश्चितः प्राय बनेको छ । स्थानीय तहमा बहुमत रहेका कारण आज हुने जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले जीतको नजिक छ । १४ जना मतदाता रहेको आजको जिल्ला समन्वय समितिको निर्वाचनमा ८ मत सहित एमाले अगाडि छ । २ मतान्तरले पछाडी परेको नेपाली कांग्रेस दोस्रो पंक्तिमा छ ।
२०५४ सालमा बनेको जिल्ला विकास समितिममा दुई पदाधिकारी सभापति र उपसभापति सहित दश जना सदस्य एमालेको पक्षमा थिए । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश न ४ का सह संयोजक गणेश प्रसाद तिमिल्सीना तत्कालीन जिविसका सभापति बनेका थिए । यसैगरी टिकाराम भुषाल उप सभापतिमा विजयी भएका थिए । २० बर्ष अगाडि जिविस सदस्यहरुमा एमालेको तर्फबाट उदय सुवेदी, तेजबहादुर गुरुङ, बाबुराम सुवेदी, मेघनाथ सुवेदी, दयालाल भुषाल, रामप्रसाद गुरुङ नेत्र कुवंर, राजु पौडेल, कमल भुषाल, रुकमाङगल न्यौपाने, नेपाली कागं्रेसका उमेदवारलाई हराउँदै समितिको सदस्य बनेका थिए । उक्त समितिले कल्पना चापागाई, मित्रलाल बस्याललाई मनोनित गरी आमन्त्रीत सदस्य बनाएको थियो ।
साविकको जिविस अधिकार सम्पन्न भएपनि नयाँ संरचनाका कारण आज बन्ने समन्वय समितिलाई समन्वयकारी भूमिका संविधानले दिएको छ । यद्यपि सोहि संरचनाका आधारमा बन्ने समन्वय समितिले जिल्लामा एमालेको इतिहासलाई दोहोराउने निश्चितः देखिन्छ ।
आज हुने समितिको निर्वाचनमा एमालेले प्रमुखमा मनोहर बिश्वकर्मा पौडेल र उपप्रमुखमा यामकुमारी रानालाई प्रस्तुत गरेको छ । उहाँहरु दुवैजना आज समितिको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने कुरामा कुनै द्धिमत नरहेको एमाले जिल्ला अध्यक्ष पदम गिरी बताउँछन । विरासत जोगाउनका लागि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्ला कमिटिले कुनै भाग बण्डा, आफ्नो पराई नसम्झि टिकट वितरण गरेका कारण एमालेले जीत हासिल गर्न सहज भएको अध्यक्ष गिरीको धारणा छ । स्थानीय तहको निर्वाचनमा एमालेले ३७ वटा सहित ४ स्थानीय तहमा विजयी हासिल गरेको छ । आजको निर्वाचनमा वडाबाट विजयी सदस्यहरुलाई जिल्ला समन्वय समितिमा समेत एमालेले लैजादैछ ।
सदस्यहरुमा कुश्मा नगरपालिका ६ का ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले रहेका छन । विरासत जोगाउने र दोहोराउने कुरा निकै कठिन भएको बताउँदै अध्यक्ष गिरीले पार्टी भित्रका सवै खालका समस्याहरुलाई समाधान ग गर्दै जनतासामू उमेदवारहरुलाई खटाएका कारण विजयी हासिल गर्न सहज भएको बताउँछन ।
आजको निर्वाचनमा नेपाली कांग्रेसले पनि परशुराम पुरीको नेतृत्वमा सवै पदमा उमेदवारी भने दर्ता गराएको छ ।




