३ साउन, पर्वत । कुश्मा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट कुश्मा बजारमा वितरण गरेको पानी ट्यांकीमा जथाभावी औषधि हाल्ने गरेको पाइएको छ । कुस्माको रोहोटेमा रहेको रिजर्भवायर ट्यांकीमा बिनामापन किटाणु मार्ने औषधि (ब्लिचिङ पाउडर) अत्याधिक प्रयोग गरेको स्थानीयले बताएका छन् ।
ट्याङकीबाट प्रवाह भइरहेको पानीमा औषधिको गन्ध आउन थालेपछि स्थानीयले गुनासोसमेत राखेका थिए । तर स्थानीयको स्वास्थ्यलाई वास्तै नगरी अहिले पनि खानेपानीको ट्यांकीमा औषधि प्रयोग गर्ने गरेको छ । पानीलाई शुद्ध बनाउने नाममा बढी औषधि प्रयोग गरिएकाले स्थानीयमा टाउको दुख्ने र रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेका छन् भने दिर्घकालीन रुपमा मिर्गौलाको खरावी आउनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
कुस्मामा वितरण हुने क्यादी खोलाबाट आउने पानी र पातीखोलाबाट आउने दुबै पानी टंकीका फिल्टर विग्रेका कारण अनावश्यक रुपमा औषधि राखिने गरेको पाईएको हो । फिल्टरले काम नगर्दा धमिलो पानी जाने, औषधिको प्रयोग नगर्दा दुषित पानी उपभोक्ताले खाने भएकाले औषधिको प्रयोग गर्ने गरेको कुश्मा खानेपानी तथा र सरसफाई उपभोक्ता समितिका कर्मचारी प्रमुख राजेन्द्र रोकाले स्वीकार गर्नुभयो ।
उहाँले कहिले काहिँ ‘अटोमेटिक डोजिङ पम्प’ले बढि मात्रामा फाल्दिन सक्ने भएकाले त्यसले गर्दा कहिलेकाहिँ गन्हाउनु स्वभाविक भएको र उमालेर खान उपभोक्तालाई जानकारी गराउने तथा माईकिङ गर्ने गरेको बताउनुभयो । पानीमा ब्लिचिङ पाउडर बढी प्रयोग गर्दा यसले स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. बुद्धी बहादुर थापाका अनुसार ब्लिचिङ पाउडर र क्लोरिनको मात्रा बढी भएको पानीको निरन्तर उपभोगले साईड ईफेक्ट गर्ने बताउनुभयो । उहाँले ब्लिचिङ पाउडर र क्लोरिन धेरै प्रयोग गरेमा विष नै भएकाले आवश्यक भन्दा बढि प्रयोग हानीकारक हुने बताउनुभयो । गत वर्ष कुश्मामा गरिएको मिर्गौला परिक्षणमा अधिकांसमा मिर्गौलाको असर देखिएको थियो । यसको मुख्य कारण पानी भएको स्वास्थ्यकर्मीहरु स्वीकार गर्छन ।
पानीमा कोरिफर्म व्याक्टेरियाको मात्रा बढि भएमा झाडापखला, आउँ जस्ता रोग देखिन्छन् भने त्यसलाई मार्ने औषधिको प्रयोगले दिर्घकालमा छाला, रुघाखोकी, जण्डिस, आँखा पाक्ने रोग लाग्ने र रगतमा समेत असर पार्न सक्छ यसले मिर्गौलालाई प्रत्यक्ष असर गर्ने स्वास्थ्कर्मीहरु बताउँछन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार एक चिया चम्चा ब्लिचिङ पाउडर ५ ग्रामको हुन्छ, क्लोरिन र ब्लिचिङ हालेको आधा घण्टापछि मात्र पानीको प्रयोग गर्दा उचित मानिन्छ । काठमाण्डौ स्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे मापदण्ड पनि तयार गरेको छ । जारी भएको मापदण्ड २०६२ मा पिउने पानी सुरक्षित पार्न ब्लिचिङ पाउडर प्रयोग गर्ने विधिमा हजार लिटर पानीमा २.५ ग्राम र १ लिटरमा ३ थोपा क्लोरिन र ब्लिचिङ झोल राख्नुपर्ने प्रावधान तोकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. थापाका अनुसार ‘गर्मी महिनामा पानी प्रयोगमा संयमता अपनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यस्तो मौसममा सरुवा रोग बढी लाग्ने भएकोले पानी सही तरीकाले शुद्धिकरण गरेर मात्र पिउनुपर्छ ।’ तर, कुश्मा खानेपानी संस्थाका कर्मचारीले भने कहिले काहीँ छोक्रासहितको ब्लिचिङ हालेर तुरुन्तै धारा खुलाउने गरेका समेत पाईएको छ ।
संस्थासँग प्राविधक कर्मचारीहरुको अभाव हुँदा यस्तो समस्या हुने गरेका बताईन्छ । संस्थासँग खानेपानी परीक्षण गर्ने छुट्टै ल्याब पनि छ । तर कहिलेकाहीँ कर्मचारीहरुले अनुमानका आधारमा पाउडर मिसाउने र कहिलेकाहीँ मेशिनमा सोही मात्रामा औषधि राखिने तर मुहानबाट पानी सप्लाई बन्द हुँदा उपभोक्ताको धारामा औषधिको मात्रा बढि जाने गरेका कारण मात्रा बढी भई पानी तीतो हुने गरेको उपभोक्ताहरु बताउँछन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलका अनुसार खानेपानीको शुद्धता हेर्ने शाखालाई अनुगमन लागि निर्देशन दिने बताउनुभयो । ’सकेसम्म जिल्लाका अधिकांश पानी ट्यांकीहरुको अनुगमन गरिरहेका हुन्छौँ,’ उहाँले भन्नुभयो’ हामीले आँफै अनुगमन गरिरहेका हुन्छौं र बेला बेलामा निर्देशन दिने गरेका छौ ।’ उहाँका अनुसार कुश्मा खानेपानीको फिल्टर सिस्टम बिग्रेको लामो समयसम्म पनि मर्मत हुन सकेको पाईदैन । ‘हामीले धेरै पहिलादेखि नै मर्मतका लागि आग्रह गरेको हो’ उहाँले भन्नुभयो ‘तर संस्थाले मर्मतमा चासो देखाएको पाईँदैन ।’
खानेपानी संस्थाका प्रमुख राजेन्द्र रोकाले यसबारे थप अनुगमन गर्ने र पानीमा मात्राभन्दा बढी पाउडरको प्रयोग भएको पाइएमा त्यसको मात्रा मिलाएर प्रयोग गरिने जानकारी दिनुभयो ।
कुश्मामा वितरण हुँदै आएको दुबै खोलाको पानी परिक्षण नहुने गरेको पाईएको छ । कार्यालयका अनुसार आफ्नो मेशिन विग्रेको दक्ष प्राविधिक कर्मचारी नभएको र सानो प्राविधिक सामान लिन पनि काठमाण्डौ पुग्नुपर्ने भएकाले समस्या हुने गरेको रोकाले बताउनुभयो । मोफसलमा रहेर जति नै गरेपनि गाह्रो हुँदो रहेछ उहाँले भन्नुभयो -सानो समस्या आयो भने पनि काठमाण्डौ पुगेर ल्याउँदा महिना लाग्छ ।
यता जिल्ला स्वास्थ्य कार्यालयले भने केही समय पहिला कुश्माको पानी परिक्षण गर्दा कुनै हानीकारक व्याक्टेरिया भेटिएको पाईँदैन । पानी परिक्षण गर्दा दुषित किटाणु भेटिएन जिल्ला अस्पतालका ल्याब टेक्निसियन रघुबिर महतोले भन्नुभयो-पानीमा विषादीको मात्रा जाँच्ने मेशिन हामीसँग पनि छैन । तर खानेपानी संस्थाले भने अत्याधिक मात्रामा औषधिको प्रयोग गरेर किटाणु मारेको त्यसले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बताईएको छ ।- पर्वत खबर साप्ताहिकबाट




