२५ असार, पर्वत । जमिन भाँसिन थालेपछि कुश्मा नगरपालिका वडा न ८ चुवाका आधा दर्जन घर जोखिममा परेका छन । साविकको चुवा गाविस वडा न ८ को जमिन भासिएपछि घरहरु जोखिममा परेको हुन । स्थानीय गोविन्द पौडेलको खेतमा ठूलो खाडल परेको छ । स्थानीय मुगा पोखरेल भन्छिन–‘जमिन भासिएपछि जोखिममा परेका वस्ती स्थानान्तरण गर्नुपर्ने भएको छ ।’
बाटो बनाउँदा अपुरो रहेको नालीमा आएको बाढिका कारण जमिन भाँसिएको स्थानीयले बताएका छन । बाढि खेतमा जम्मा हुदै जाँदा त्यहाँको जमिन भासिएको हो । पोखरेल पर्वत न्यूजलाई भनिन –‘नालीको ब्यवस्थापन नभए जमिन थप भाँसिन सक्छ र घरहरु भत्किन सक्छन ।’ वस्ती वीच भागको जमिन भाँसिएपछि त्यसको ब्यवस्थापनको लागि स्थानीय सरकारलाई अनुरोध गर्ने नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले बताए । भाँसिएको जमिनको निरिक्षण गर्न शनिवार चुवा पुगेका गिरीले निकै जोखिमयूक्त बस्तीमा सावधानी अपनाएर बस्न स्थानीयलाई आग्रह समेत गरे । बस्तीको वीच भागको जमिन भाँसिएको र जमिनसंगै नजिकका घरहरु र सडक समेत दवेको छ ।
यस अघि पनि चुवाका विभिन्न ठाउँको जमिनहरु भाँसिने गरेको स्थानीय बताउँछन । जमिन मुनीको भाग कमजोर भएको र बर्षायाममा पानीका कारण जमिन कमजोर हुने भएकाले पनि जमिन भाँसिने क्रम रोकिएको छैन ।





