२१ असार, पर्वत । मनसुन शुरु भए भएर निरन्तर बर्षात हुन थालेपछि जिल्लाका ३ गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन । जिल्लाका महाशिला, पैयू र विहादी गाउँपालिका सदरमुकाम कुश्मासंग सडक सम्पर्कमा छैनन । नियमित रुपमा चल्ने कच्चि सडकका सवारी साधनहरु थन्किएको पर्वत यातायात ब्यवसायी समितिले जनाएको छ ।
हिउँदको समयमा दैनिकजसो सवारी साधन चल्ने ग्रामीण सवै सडक बर्षायामका कारण प्रत्यक्ष सम्पर्कमा छैनन । महाशिलाका लागि फलेवास हुँदै चल्न सवारी साधनहरु मुडिकुवा झकलक सडक जीर्ण बनेपछि सवारी चलाउन सकिने अवस्थामा छैन भने, महाशिला पुग्ने सकड अवरुद्ध हुँदा पैयू गाउँपालिका पनि सडक सम्पर्कमा छैन ।
उता, विहादी गाउँपालिकाका लागि बाच्छा., पाङराङ र रानीपानी खण्डमा बर्षातले सडक विगारेपछि प्रत्यक्ष सडक सम्पर्क विच्छेद जस्तै भएको छ । महाशिला पुग्नका लागि वैकल्पिक रुटको रुपमा दोविल्ला पकुवा कार्किनेटाको सडक प्रयोग हुने भएपनि उक्त सडक खण्डमा समेत खाल्टाहरु ठूला परेको र पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध पारेका कारण सडकमा सवारी चल्न सकेका छैनन । महाशिलाको प्रत्यक्ष बजार सम्पर्क पोखरा भइरहेको छ ।
महाशिलाको भोक्सिङ देखि लुंखु पाखापानी र कार्किनेटा हुँदै सडक सञ्जाल पोखरासम्म जोडिएको छ । उक्त सडक बर्षायाममा पनि सञ्चालनमा आउँछ, उता, पैयू र विहादी भने प्रत्यक्ष रुपमा स्याङजाको वालिङसंग प्रत्यक्ष सम्पर्कमा छ । रानीपानी देखि हुवास हुँदै बर्षायाममा पनि वालिङसंग सवारी साधनहरु चल्छन ।
जिल्लाको सदरमुकाम समेत रहेको कुश्माका ग्रामीण क्षेत्रमा भने सवारी साधनहरु चलिरहेका छन । उता, जलजलामा समेत सडक जिर्ण बनेपछि केहि वडाहरुमा मिलनचोक देखि सवारी साधन चलीरहेका छन भने मोदीका विभिन्न वडाहरुमा जाने सडक यतिबेला अवरुद्ध बनेको छ । मोदीकेन्द्र देखि सवै ठाउँमा पुग्नका लागि सडक सञ्जाल बर्षायाममा भने अवरुद्ध नै हुने गर्छ ।




