२९ जेठ, पर्वत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा जिल्ला नागरिक समाज सञ्जाल पर्वतको समन्वयमा मानवअधिकार वर्ष पुस्तक–२०१८ को अर्धवार्षिक समीक्षा कार्यक्रम जेष्ठ २९ गते कुश्मामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पर्वत जिल्लालाई मानवअधिकार मैत्री जिल्ला बनाउन आफू पूर्णरुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पन्थीले भने– “जनताका नैसर्गिक अधिकारको संरक्षण गर्न प्रशासनले कुनै कसुर बाँकी राख्ने छैन ।”
उक्त कार्यक्रममा बोल्दै पर्वत जिल्लाका प्रहरी प्रमुख डिएसपी शेखर खनालले सरकारी निकाय तथा गैरसरकारी निकायले एक आपसमा समन्वयात्मक ढंगले कार्य गर्न सकेको खण्डमा आगामी दिनमा पर्वत जिल्लालाई सबै प्रकारका हिंसामुक्त जिल्लाका रुपमा स्थापित गराउन सकिन्छ भन्दै यसका लागि नागरिकहरुसँग प्रहरी हातेमालो गर्न सँधै तयार रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले राखेको प्रस्तुतीमा सन् २०१७ को पहिलो ६ महिनामा पर्वत जिल्लामा मानव अधिकारसँग जोडिएका विभिन्न ४१ वटा घटनाहरु समावेश भएका थिए । जसमा २ वटा बलत्कार, १ वटा बालविवाह र ३८ टा घरेलु हिंसाका घटनाहरु समावेश थिए ।
नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्वत जिल्ला अदातल बार इकाईका अध्यक्ष विश्वराज पाण्डे, निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुेवेदी लगायतका वक्ताहरुले बोलका थिए भने कार्यक्रमको संचालन शिक्षाका लागि राष्ट्रिय अभिभान, पर्वतका सचिव यज्ञराज शर्माले र स्वागत गैसस महासंघ, पर्वतका अध्यक्ष राजेन्द्र पौडैलले गरेका थिए ।




