१ जेठ, पर्वत । निकै मन्द गतिमा मतगणना भईरहेको पर्वतका मतगणना स्थलहरुमा रिपोटिङका लागि पत्रकारहरुलाई अवरोध गरिएको छ । मतगणनाको रिपोटिङका लागि मतगणना स्थलमा पुगेका पत्रकारहरुलाई निर्वाध समाचार संकलनमा अवरोध गरिएको हो । गोप्य मतदानद्धारा खसेका मतहरुको गणनामा निर्वाचन अधिकृतको कार्यालयले पर्वतका सञ्चारकर्मीलाई अवरोध गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका निर्वाचन अधिकृतले माथिको आदेश भन्दै सञ्चारकर्मीहरुलाई निर्वाचन सम्बन्धि रिपोटिङका अवरोध गरेका छन । यसैगरी निर्वाचनको सुरक्षार्थ खटिएका प्रहरीले समेत तस्विर कैद गर्न, तथ्यांक संकलन गर्न र मतगणना स्थलको अवलोकन गर्न पटक पटक अवरोध गर्दै आएको पत्रकार गणेश पौडेलले बताए ।
धाँधली रहित मतगणनाको अपेक्षा गरेका मतदाताहरु वर्तमान सरकारको संयन्त्रले बदनियत पूर्वक सञ्चारकर्मीको समाचार संकलनमा अवरोध गर्नु घोर निन्दनीय रहेको पत्रकारहरुको भनाई छ । जिल्लाको मोदी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण शर्मा नेपालले सोमबार मतगणना स्थलमा पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाए भने, कुश्मा नगरपालिकामा पत्रकारलाई समाचार संकलनमा पटक पटक अवरोध गरिएको छ ।
निर्वाचनको मतपरिणाम आधिकारीक रुपमा सार्वजनिक गर्न नसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले समाचार संकलनमा सहजता ल्याउने बताएपनि मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले भने समाचार संकलनमा माथिको निर्देशन बमोजीम गरिएको दावी गरे । भट्टराईले सञ्चारकर्मीलाई माइकबाट भनिएको सुचना बाहेक आफूले अन्य तथ्यांक तत्काल उपलब्ध गराउन नसकिने बताउदै पत्रकारलाई समाचार संकलनमा भने अवरोध नगरिएको जिकिर गरे ।




