Print

दलहरुको सांगितिक प्रचारप्रसारले पर्वतमा ध्वनिप्रदुषण बढ्यो

 २४ वैशाख, पर्वत। स्थानिय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । केहि वर्ष अघि सम्म पर्चा पम्प्लेट, र भित्तेलेखन गरेर प्रचारप्रसार गर्ने दलहरुले यसपटक भने गीतसंगित, विज्ञापन बजार प्रचार प्रसार गर्न थालेका छन् ।

सवारीसाधनमा चर्को स्वरमा माईक र स्पिकर जोडेर प्रचारप्रसार गर्दा पर्वत सदरमुकाम लगायत गाउँ गाउँमा ध्वनिप्रदुषण बढेको छ । विहान ५ बजेदेखि राती अबेरसम्म नै निकै ठुलो स्वरमा दलका नारा, गीत तथा भोट मागिकमा जिङ्गगलहरु बजाउँदा ध्वनि प्रदुषण बढेको हो । आयोगको मापदण्ड विपरि एउटै दलले दर्जनौ सवारीसाधनहरुमा प्रचारप्रसारका लागि ध्वनि यन्त्रहरु जडान गरेका छन् । ग्रामीण क्षेत्र भन्दा सदरमुकाम कुश्माबजारमाट बढि कोलाहाल मच्चिन थालेको छ ।
विभिन्न कलाकारहरुले गाएका पार्टी निकट गीतहरु उनिहरुले बजाइरहेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले प्रचारप्रसारको मुख्य माध्यमनै त्यहि बनाएका हुन् । अन्य साना दलको भने खासै प्रभाव देखिएको छैन ।

दलहरुले सुन्न सकिने भन्दा पनि बढि क्षमतामा माईकहरु बजाउँदा बालबालिका र साना बच्चाहरुलाई समस्या परेको कुश्माबजारको लोकतन्त्र चोकका याम बास्तोलाले गुनासो गरे । जतिवेला सुकै एउटै ठाउँलाई केन्द्रित गरेर सवै दलहरुले गीत तथा नाराहरु बजाउँदो घरमा बस्नै समस्या भएको उनले बताए ।

राजनीतिक दलहरुले पनि आफ्नो दललाई भोट हाल्न आग्रह गरिएका गीतहरु बजाउँदा निकै प्रभावकारी हुने भएकाले प्रचारप्रसारको मुख्य माध्यमक यसैलाई बनाईको बताएका छन् । एक पटक रेकर्ड गरेपछि सँधैभरीलाई हुने भएकाले प्रत्येक उम्मेदवारले स्थानिय रेडियोहरुमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिएको विज्ञापन रेकडिङ्ग गर्ने र सवारीसाधनमा स्पिकर राखेर चर्को स्वरमा बजाउने गरेका छन् । पर्वतमा झण्डै ५० जना भन्दा बढि उम्मेदवारहरुले व्यक्तिगत रुपमा विज्ञापन बनाएका स्थानिय रेडियोका कृष्ण अखेलीले जानकारी दिए ।

निर्वाचनको आचारसंहिता विपरित नै हुनेगरी ध्वनि प्रदुषण गरेको भएपनि अहिले सम्म कुनैपनि निकायको ध्यान जान सकेको छैन । जिल्ला निर्वाचन कार्यालयले यस वारे सम्वन्धित दलहरुको ध्यानार्षण गराउने जनाएको छ । जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले समान्यतया अहिलेसम्म यस बारेमा गुनासो नआएको बताउँदै तत्काल स्थानिय दलहरुको ध्यानाकर्षण गराउने जानकारी दिएका छन् ।

पर्वत जिल्लाभित्र र बाहिरे संचालन हुने सवारीसाधनहरु पनि अहिले दलहरुको प्रचारप्रसारमै व्यस्त रहेका छन् । झण्ढै एक सय भन्दा बढि सवारीसाधन दैनिकजसो दलहरुको प्रचारप्रसारमा प्रयोग भैरहेको पर्वत यातायात व्यावसायी समितिले जनाएको छ ।