Print

अन्ततः स्थानीय निर्वाचन तोकिएको मितिमा नहुने सम्भावना बढ्यो

५ वैशाख, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन तोकेपनि अन्ततः नहुने सम्भावना बढेको छ । सरकार र प्रतिपक्षीको चुनावी तयारीको मूल्यांकन गर्दा चुनाव नहुने गरी दलहरुले गृहकार्य गरीरहेको बुझिन्छ । स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति’मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ ।

दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन ।प्रतिपक्ष दलले भने सरकारले नै चुनावमा अन्योल बढाएर वातावरण बन्न नदिएको आरोप लगाएको छ । राजनीतिक दलले अझसम्म आआफ्नै उम्मेदवार चयन गर्न सकेका छैनन् । घोषणापत्र र चुनावी नारा तय गर्न पनि उनीहरु पछि परेका छन् ।

पहिलो ठूलो दल नेपाली कांग्रेसले चुनावी नारा तय गरे पनि घोषणापत्र सार्वजनिक गर्न सकेको छैन । दोस्रो र तेस्रो ठूला दल एमाले र नेकपा माओवादी केन्द्रले पनि घोषणापत्र तयार पार्न सकेका छैनन् ।

उता मधेसी मोर्चाले भने उमेदवारी दर्ताका दिन नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरीसकेको छ । मधेसी मोर्चाको आन्दोलन सरकार पक्ष र प्रतिपक्षी दलको मन्दगतिको चुनावी तयारी हेर्दा चुनाव तोकिएको समयमा नहुने सम्भावना बढेको हो ।