२९ पर्वत, असार । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको उपस्थितिमा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।
ूसामाजिक आर्थिक रूपान्तरणको रणनीति स् समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षाू भन्ने नारालाई आत्मसात गर्दै गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ। स्मार्ट बोर्डको प्रयोगले शिक्षकको शिक्षण शैली थप प्रभावकारी हुने, विद्यार्थीको सिकाइ रुचिकर बन्ने तथा सूचना–प्रविधिमैत्री शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले आधुनिक शिक्षाको आधार नै प्रविधि भएको उल्लेख गर्दै स्मार्ट बोर्डको अधिकतम सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नुभयो। उहाँले प्रविधिको प्रभावकारी प्रयोगबाट विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष बिमल लामिछानेले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार र प्रविधिमा निरन्तर लगानी गरिरहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले स्मार्ट बोर्ड केवल उपकरण नभई शिक्षण सिकाइको गुणस्तर परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै यसको नियमित र प्रभावकारी प्रयोगमा जोड दिनुभयो।
सामाजिक विकास समिति संयोजक तथा वडा अध्यक्ष सुकबहादुर गुरुङले ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक प्रविधिसहितको शिक्षा उपलब्ध गराउने गाउँपालिकाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
शिक्षा अधिकृत दिनेश शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा स्मार्ट बोर्डको प्रयोग, व्यवस्थापन र विद्यालयमा यसको प्रभावकारी कार्यान्वयनबारे समेत जानकारी गराइएको थियो।
मोदी गाउँपालिकाको यो पहलले सामुदायिक विद्यालयहरूलाई डिजिटल शिक्षातर्फ उन्मुख गराउँदै विद्यार्थीलाई २१औँ शताब्दीको आवश्यक सीपसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




