२६ जेठ, पर्वत । वर्षौंदेखि आफ्नै ओत लाग्ने ठाउँविहीन अवस्थामा कष्टकर जीवन बिताइरहेका मोदी गाउँपालिका–८ का ‘क’ वर्गका (पूर्ण) अपाङ्गता भएका वैषलाल कामीले अन्ततः आफ्नै जग्गा पाएका छन्। कलाकार तथा सामाजिक अभियन्ता आरसी पौडेलको नेतृत्व र विभिन्न सहयोगी मनहरूको सहकार्यबाट वैषलालको परिवारका लागि स्थायी बसोबासको आधार तयार भएको हो।
पर्वत न्यूज लगाएतका मिडिया समाचार आएपछि विभिन्न ब्यक्ति र संस्थाहरुले सहयोग गरेपछि जग्गा प्राप्तिमा सहयोग पुगेकाे हाे ।
५२ वर्षीय वैषलाल शारीरिक रूपमा पूर्ण असक्त छन्। उनका साथमा ११ वर्षीय छोरा र ७५ वर्षीया वृद्ध आमा रहेका छन्। लामो समयदेखि मामाघरमा आश्रित जीवन बिताउँदै आएका उनी पारिवारिक परिस्थितिका कारण बसोबासको समस्या झेल्दै आएका थिए। मामाको परिवारले घर खाली गरिदिन अनुरोध गरेपछि उनी र उनको परिवार थप संकटमा परेका थिए ।
उनको दयनीय अवस्थाबारे जानकारी सार्वजनिक भएपछि कलाकार तथा सामाजिक अभियन्ता आरसी पौडेलको विशेष पहलमा सहयोग अभियान सुरु गरिएको थियो। पौडेलको आह्वानमा “पर्वत समाज जापान” लगायत देश तथा विदेशमा रहेका विभिन्न सामाजिक अभियन्ता र सहयोगीहरू अभियानमा एकजुट भएका थिए।
सहयोगदाताहरूबाट संकलित कुल १ लाख ६० हजार रुपैयाँको लागतमा मोदी गाउँपालिकाको मल्काहा क्षेत्रमा वैषलालका लागि जग्गा खरिद गरिएको छ। उक्त जग्गा स्थानीय नन्दलाल पाह्याबाट वैषलाल कामीको नाममा नामसारी गर्ने गरी कानुनी तमसुक (कागजात) समेत सम्पन्न भइसकेको छ।
खरिद गरिएको जग्गाको उत्तरतर्फ मुख्य मोटरबाटो, दक्षिणतर्फ कल्पना विकको जग्गा, पूर्वतर्फ देवीप्रसाद पौडेलको जग्गा र पश्चिमतर्फ कल्पना विककै घर जाने बाटो रहेको छ। तमसुकअनुसार अब मालपोत कार्यालयमार्फत नामसारी प्रक्रिया अगाडि बढाइनेछ। साथै, नामसारी प्रक्रिया पूरा हुनुअघि नै वैषलालले उक्त जग्गामा घर निर्माण कार्य सुरु गर्न सक्ने सहमति समेत भएको छ।
यस कार्यका रोहवर तथा साक्षीका रूपमा यदुप्रसाद पौडेल, डण्डपानी शर्मा, रामप्रसाद शर्मा, लक्ष्मी विश्वकर्मा, निरु सुनार, दीपक सुनार तथा सन्दीप नेपालीलगायत स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।
राज्यका जिम्मेवार निकायहरूबाट पर्याप्त ध्यान नपुगेको अवस्थामा आरसी पौडेलले जसरी भए पनि वैषलाललाई जग्गा उपलब्ध गराउने र घर निर्माणमा समेत सहयोग जुटाउने प्रतिबद्धतासहित अभियान सञ्चालन गरेका थिए। सोही अभियानको परिणामस्वरूप वैषलालले आफ्नै नाममा जग्गा प्राप्त गरेका हुन्।
आफ्नै भूमि प्राप्त गरेपछि भावुक बनेका वैषलाल र उनका परिवारले अभियानका संयोजक आरसी पौडेल, पर्वत समाज जापान तथा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति आँसु झार्दै कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले अब आफ्नो परिवारले सुरक्षित र सम्मानजनक जीवनयापनको आधार प्राप्त गरेको बताएका छन्।
यस अभियानलाई मानवीय संवेदनशीलता, सामाजिक एकता र सहयोगी भावनाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।




