२४ जेठ, पर्वत । आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट सार्वजनिक भईसकेको छ । गत जेठ १५ गते अर्थ मन्त्री स्वर्णीम ग्वालेले सार्वजनिक गर्नुभएको बजेटले भने पर्वत जिल्लालार्ई उपेक्षा गरेको देखिन्छ । बजेट वक्तब्यमा पर्वत जिल्लाका विषय छुटेका मात्रै छैनन जिल्लाका गौरबका योजनाहरुको लागि बजेट समेत विनियोजन भएको छैन् । यस अघि पर्वत जिल्लाई आधार बनाएर कालीगण्डकी जलाशययुक्त परियोजनाको डिपिआर र सर्वेको काम अघि बढेको थियो । वर्तमान सरकारले उक्त आयोजनाको नाम वक्तब्यमा उल्लेखै गरेको छैन् । जिल्लालाई पोखरासम्म जोड्ने गरी यस अघिका सरकारले अघि सारेका योजना सुरुङ मार्ग र फलामखानी उत्खनन्को बिषयमा बजेट मौन रहेको छ ।
संघीय सरकारले विनियोजन गर्ने ठूला आयोजना मात्रै होइन जिल्ला भित्रका रणनैतिक सडकहरुमा समेत बजेट अभाव देखिन्छ । पछिल्लो समय समपुरक र विशेष अनुदानका शीर्षकहरु सार्वजनिक भईरहँदा योजनामा बजेट अभाव देखिन्छ । संघ सरकारले संघीय विशेष कार्यक्रमहरु मार्फत जिल्लाका मुख्य सडकहरु स्तरोउन्नतीका कामका लागि बजेट विनियोजन गर्ने गर्दछ । तर पर्वत जिल्लाका मुख्य सडकहरुको लागि परेको बजेटले जिल्लाको सडक सञ्जाल उपेक्षा देखिन्छ । मोटरेवल पुलहरु निर्माण कार्यलाई संघ सरकारले विनियोजन गर्ने बजेटमा समेत वर्तमान सरकार चुकेको छ । यस अघि संघीय सांसद सागर भु्षालले ११ अर्ब रकम पर्वत जिल्लाको लागि माग गरेको उल्लेख गरे पनि हालसम्म ११ करोडका योजनाहरु पनि सार्वजनिक भएका छैनन । सरकारले पर्वत जिल्लाका लागि यस अघिका नियमित योजनाहरु बाहेक नयाँ र रणनैतिक योजनाहरुमा बजेट उपलब्ध गराएको छैन । विगत ९ बर्षको अभ्यास हेर्दा पर्वत जिल्ला देशभरका ७७ जिल्ला मध्ये धेरै बजेट पर्ने १० जिल्लाहरु भित्र पदथ्र्यो ।
सरकारले उपलब्ध गराएको बजेट सिलिङले पर्वत जिल्लामा आगामी बर्षमा उल्लेख्य भौतिक पूर्वाधारका कामहरु अघि बढ्ने देखिदैनन् । जिल्ला भित्र यस अघि मल्लाज स्वास्थ्य चौकी देखि लेकफाँटसम्मको सडक संघीय रणनैतिक कार्यक्रम अन्तर्गत कालोपत्रे भईसकेको छ । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवासको ढिक देखि अर्मादीसम्मको सडकमा १ अर्ब बढि रकम ठेक्का लगाएर काम शुरुवात भईसकेको छ । मध्यपहाडी लोकमार्गमा पातिचौरमा २ वटा र दोविल्लामा १ वटा गरी ३ वटा मोटरेवल पुलको निर्माण कार्य यस अघि नै शुरुवात भईसकेको छ । विगत ९ बर्षका अवधिमा पर्वत जिल्लामा कुल २ सय २२ किलोमिटर ग्रामीण सडक कालोपत्रे भइसकेका छ भने दर्जन बढि मोटरेवल पुलहरुको निर्माण कार्य सकिएको छ ।
साना र ग्रामीण सडकहरु अझै निर्माण बाँकी छन् । जिल्लाको मोदी गाउँपालिकामा रतिखोला देखि तिलाहारको दराक हुँदै चित्रे राम्जा रिङरोडको काम यस अघि नै शुरुवात भईसकेको छ भने पातिचौर देखि बाजुङ क्याङ हुँदै नागी जोड्ने सडकको काम पनि अगाडि बढिरहेको छ ।
कालीगण्डकी नदी र मोदीखोलामा आधा दर्जन मोटरेवल पुलको निर्माण काम बाँकी रहेको भएपनि ति पुलहरुमा समेत यस पटक बजेट परेको देखिदैन् ।





