२३ जेठ, पर्वत । कुश्मास्थित कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले गुणस्तरीय उच्च शिक्षाको विकासका लागि सामुदायिक क्याम्पसहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूले स्थानीय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै कुश्मा बहुमुखी क्याम्पसले छोटो समयमै सकारात्मक पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले क्याम्पसको स्थापना पछिको एक वर्षको प्रगति, शैक्षिक उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर क्याम्पस अगाडि बढिरहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाप्रेमी, अभिभावक, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। वार्षिकोत्सवका अवसरमा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका योजना तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो।
सहभागीहरूले कुश्मा बहुमुखी क्याम्पसलाई जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। कार्यक्रममा क्याम्पसमा विशेष सहयोग पुराउनेहरुलाई सम्मान गरिएको थियो । कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस वीच एकता भई कुश्मा बहुमुखी क्याम्पसको स्थापना भएको हो । क्यामपस स्थापना भए पछि साविकका क्याम्पसका २ वटै भवनहरुबाट अध्यापन भईरहेको छ । क्याम्पसमा अहिले स्नाकोत्तर तहसम्मको अध्यापन हुने गर्दछ ।




