१९ कार्तिक, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी अर्को मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ नयाँपुल देखि बागलुङ नगरपालिका वडा न १३ लाई जोड्ने गरी कालीखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको हो ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले उक्त मोटरेवल पुलको निर्माण गर्न लागेको हो । १६ करोड ९५ लाख २५ हजार ५ सय लागतमा उक्त पुलको निर्माण कार्य शुरु भएको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
पुल निर्माणको लागि मुत्तिनाथ अमित जेभीसंग कार्यालयले गत २०८२ साल असार १७ गते सम्झौता गरीसकेको छ । आगामी ३ बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी पुलको निर्माण कार्य शुरु भएको निर्माण कम्पनीका ब्यवस्थापक सुरेश भट्टराईले जानकारी दिनुभयो ।
कुल १ सय मिटर लामो उक्त पुलले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करीडोरलाई जोड्ने छ । पुल निर्माण हुँदा दुई नगरपालिका वीचको यातायात सुविधामा थप सहयोग पुग्नेछ ।




