Print

कुश्मामा गुन्जियो “एउटा चिठिको सहाराले..”

२ कार्तिक, पर्वत । कुश्माको बान्दे्रवीडि चौरमा द एक्स को लाइभ कार्यक्रम सम्पन्न भएको छ । कुश्मा स्थित शिवालय युवा विकास मञ्चले यस दशै तथा तिहारको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ चर्चित बनेको द एक्स ब्यान्ड समूहले कुश्मामा सांगेतिक कार्यक्रम प्रस्तुत गरेको हो । १९९२ मा स्थापना भएको उक्त सांगेतिक समूहले नेपाली विभिन्न रक्, पप आदि गीतहरूबाट कार्यक्रममा मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा एउटा चिठिको साहारले तिम्रो मन जित्न चाहन्न म बोलको गीत गुन्जिदा माहोल निकै रमाइलो बनेको थियो । हामी पनि झिल्के, छिनमै रिसाउँदा लगाएतका गीतहरु प्रस्तुत गरेका शिव मुखियालाई सुरेन श्रेष्ठ, सजल राज भण्डारी लगाएतका कलाकारहरुले साथ दिएका थिए । सिमानाका किल्लाहरु किन सर्छ बोलको राष्ट्रभक्ति गीत गाउँदा दर्शकहरु भावुक बनेका थिए । स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको मञ्चका अध्यक्ष सविधान गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमको आयोजक संस्थाले बान्द्रेवेणी चौर संरक्षण हाम्रो अभियान, प्रकृती,संस्कृति र भविष्यका लागि हाम्रो संकल्प भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाल आइडलका विजेता गंगा सोनाम, डान्सर र गायक दिपेन्द्र सोनामको समेत प्रस्तुतीले माहोल गरम बनाएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका ख्याति प्राप्त ब्याण्ड द एक्स, रिडम म्युजिक ग्रुपसंगै अन्य कलाकारहरूको प्रस्तुति रहेको थियो ।

कार्यक्रम मार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घोषण युवा पत्रकार दिपेश वि पोख्रेलले गरेका थिए ।