२५ असार, पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । नदीमा बहाव उच्च हुने भन्दै जल तथा मौसम विज्ञान विभाग मंगलबार साँझ नै तटिय क्षेत्रका स्थानीयलाई सचेत गराईसकेको छ ।
मुस्ताङ जिल्लाको जोमसोम जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको भन्दै विभागले कालीगण्डकी संगै रौघाट खोला, म्याग्दी खोला तथा स साना नदीको तल्लो तटीय आसपासमा बसोबास गर्ने नागरिकलाई सचेत बनाएको हो ।विभागको पूर्वानूमानसंगै नदीका प्रभावित क्षेत्रमा पर्ने जिल्ला प्रशासन कार्यालयहरुले समेत सुचना प्रकाशित गरी नागरिकहरुलाई सचेत रहन आग्रह गरीसकेका छन् । बुधवार विहानसम्म नदीले पुराएको कुनै क्षतिको विवरण प्राप्त छैन् ।
उता, कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन् ।
बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको छ ।




