Print

पर्वतका ६ पालिकाले ल्याए बजेट, बिहादीको अन्यौलमा


११ असार, पर्वत । जिल्लाका ६ वटै स्थानीय तहहरुले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्षका लागि नीति कार्यक्रम तथा बजेट नगर सभा तथा गाउँसभामा प्रस्तुत गरेका ६ वटा स्थानीय तह मध्ये मोदी बाहेक सवै स्थानीय तहको बजेट सर्वसहमत पारित भएको छ ।

मोदीले भने यस अघिको अभ्यासलाई निरन्तरता दिदै गाउँ सभा सभामा प्रस्तुत भएको बजेट आगामी अधिवेशनमा छलफल सहित पारित गर्नेछ ।

यसै वीच कुश्मा नगरपालिका, जलजला गाउँपालिका, पैयू गाउँपालिका, फलेवास नगरपालिका र महाशिला गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । उता, विहादी गाउँपालिकामा भने भूमि वैंकलाई विनियोजन गर्न लागिएको १० लाख रुपैंया बजेटमा जनप्रतिनिधिहरु वीच कुरा नमिल्दा बजेट अन्यौलमा परेको छ ।

गाउँपालिका अध्यक्ष परविन गुरुङले भूमि वैंक स्थापना गर्नका लागि प्रारम्भिक चरणका काम गर्न १० लाख रुपैंया बजेट विनियोजन गरे पनि वडा अध्यक्ष गणेश पराजुलीले उक्त रकम खर्च गर्ने आधार नभएको भन्दै त्यो बजेटमा आफूहरुको असहमती रहेको सामाजिक सञ्जालमा स्टाटल लेख्नुभएको छ ।

विगतका दिनहरुमा सर्वसहमत समयमा नै बजेट ल्याउँदै आएको विहादीमा विवाद देखिएको बेला कुश्मा नगरपालिकामा रहँदै आएको विवाद यस पटक समयमा नै समाधान भएको छ । स्थानीय तहहरुमा संसदीय अभ्यास नहुने भए पनि बहुमत जनप्रतिनिधिहरुले कुनै पनि विषयमा असहमती राख्दा स्थानीय तहका बजेटहरु प्रभावित हुने गरेका छन् ।